‘कोरोना बीमा भुक्तानी चाँडै’
राजु लामिछाने
रुकुम पश्चिम, चैत ८ गते । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी तत्कालै सुरु गरिने बताउनुभयो । विभिन्न कारणले समयमै भुक्तानी हुन नसकेको उक्त कोरोना बीमा अब एक/दुई दिनमै भुक्तानी प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।
सोमबार गृह जिल्ला रुकुम पश्चिममा नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री शर्माले भन्नुभयो, “महामारीको बीमा गर्नुहुँदैनथ्यो, बीमा सुरु नै गरेपछि भुक्तानी गर्नुपर्छ । यसलाई हामीले कार्यान्वयन गर्नैपर्छ। ”
अर्थमन्त्री शर्माले गत आर्थिक वर्षको तुलनामा यस वर्ष साढे ४२ प्रतिशतले आयात वृद्धि भएकाले तरलताको समस्या देखिएको बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण पेट्रोलियम पदार्थ, तामा, फलाम, खाने तेललगायतमा महँगी बढेको उहाँले बताउनुभयो । उहाँले मूल्य वृद्धि र आयात वृद्धिसँगै भएकाले आर्थिक तरलता देखिएको बताउनुभयो ।
आयात प्रतिस्थापनका लागि कृषि उत्पादन बढाएर निर्यातमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “कृषिलाई उद्योगसँग जोड्नुपर्छ र उत्पादनमुखी कार्य गर्नुपर्छ, त्यसो भएमा स्वरोजगार सिर्जना हुन्छ र गरिबी घट्छ,” मन्त्री शर्माले भन्नुभयो । अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी, हाइपर फन्ड, डिजिटल नेटवर्कलगायतका जटिल धन्दाले समस्या निम्त्याएको जानकारी गराउनुभयो । त्यसबाट दैनिक ५० करोड रुपियाँ कतै हराइरहेकाले प्रविधिमार्फत त्यसको रोकथाम गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो ।