अर्थ |

अनलाइनबाटै नवीकरण

गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ९ गते । बीमा क्षेत्रमा काम गर्ने बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा समिति नै धाइरहन नपर्ने भएको छ ।मङ्गलबारदेखि अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरणको सुरुवात भएसँगै बीमा समितिमै धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।

अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाटै अनलाइन प्रणालीबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटै इजाजतपत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्ने समितिले जनाएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले ललितपुरको कुपन्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका करिब तीन लाख अभिकर्ताले डिजिटल माध्यमबाटै इजाजतपत्र नवीकरण गर्न पाउने भएपछि बीमाको पहुँच विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । हाल देशभर नवीकरण योग्य बीमा सर्भेयरको सङ्ख्या करिब एक हजार २७० र बीमा अभिकर्ताको सङ्ख्या करिब तीन लाख रहेका छन् ।