अर्थ |

‘विदेशी सीप र ऊर्जा लगानी गर्नूस्’

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ९ गते । अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण तयार गर्न सरकारले नीतिगत परिवर्तन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेको आह्वानमा मङ्गलबारदेखि काठमाडौँमा सुरु भएको १०औँ महाधिवेशन एवं विश्व सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो । उहाँले भन्नुभयो, “विश्वका विभिन्न मुलुकमा गएर विभिन्न पेसा, व्यवसाय गरेका नेपालीलाई मताधिकारबाहेक सम्पूर्ण अधिकार संविधानले दिएको छ । लगानीका लागि कानुन अप्ठ्यारो बनेको थियो । अहिले सच्चाउने प्रक्रियामा छौँ । ”

उहाँले विदेशमा हासिल गरेको ऊर्जा र सिकेको सीपलाई नेपालको समृृद्धिका लागि लगानी गर्न आग्रह गर्दै त्यसका लागि वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री शर्माले विकास, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सडक, यातायात, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त मात्रामा लगानीको अवसर रहेको बताउनुभयो । तर, पर्याप्त सम्भावना हुँदाहुँदै पनि निर्यात बढाउन नसकेको उहाँको धारणा थियो ।

उहाँले भन्नुभयो, “हामी आयात घटाउन लाग्नुपर्छ । पेट्रोल, डिजेलको भाउ बढ्दा, डलर बढ्दा ठूलो प्रभाव पारेको छ । यसको समाधानका लागि हामीले सबै बाटो खुला राखेका छौँ । ”मन्त्री शर्माले विदेशमा बस्ने नेपालीलाई नेपाल नआई डलर खाता खोलेर कारोबार गर्न सक्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो । साथै आत्मनिर्भर हुन सक्ने क्षेत्रको पहिचान गरेर उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

१०औँ महाधिवेशनमा एनआरएनका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले गैरआवासीय नेपाली सधैँ नेपालको समृद्धि र विकासमा केन्द्रित हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकार र गैरआवासीय नेपाली सङ्घबीचको साझेदारमा समृद्धि र विकासको नवीन यात्रा आरम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

विदेशमा आर्जेको ऊर्जा, क्षमता, व्यापार, व्यावहारिक विषयलाई नेपालमा सिकाउन सकिने बताउँदै प्रमुख संरक्षक घलेले भन्नुभयो, “मातृभूमि नेपालको विकास र समृद्धिमा निरन्तर लाग्नेछौँ । ” उहाँले एनआरएनएमा केही विवाद देखिए पनि सबै एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषम परिस्थिति हो । कोभिडको अप्ठ्यारो परिस्थितिमा पनि हामी महाधिवेशनका लागि जुटेका छौँ । भूकम्प जाँदा नेपालमा उत्रिएका थियौँ । यो संस्थामा भूकम्प गएको छ । आपसमा विश्वासको वातावरण बनाएर अगाडि बढौँ । ”

सङ्घका उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक सोनाम लामाले नेपालको विकासका लागि विदेशमा काम गरेर जोगाएको रकम लगानी गर्न गैरआवासीय नेपाली तयार रहेको बताउनुभयो । उहाँले सरकारले गैरआवासीय नेपालीले लगानी गर्ने वातावरण तयार गर्न महत्त्वपूर्ण नीति नियम बनाउनुपर्ने बताउनुभयो । उहाँले एनआरएनएलाई विधि–विधानअनुसार अगाडि बढाउनुपर्ने पक्षमा रहेको प्रस्ट पार्नुभयो ।

मुद्दा फिर्ता गर्ने, अध्यक्षमा बहुपद
सङ्घका अध्यक्ष कुमार पन्तले १०औँ महाधिवेशनमा बहुअध्यक्षको प्रस्ताव गरिने बताउनुभएको छ । एनआरएनए अध्यक्षका उम्मेदवारत्रय कुल आचार्य, डा. बद्री केसी र रविना थापाको उपस्थितिमा अध्यक्ष पन्तले सहमतिका लागि बहुअध्यक्ष प्रणालीमा जाने प्रस्ताव लगिने बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालय र सङ्घबीच देखिएको विवाद समाधान भइसकेको उल्लेख गर्नुभयो । उहाँले सहमति कार्यान्वयनका लागि अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने बताउँदै चैत १० र ११ गते महाधिवेशनको औपचारिक कार्यक्रम हुने जानकारी दिनुभयो ।