अर्थ |

जीवन धान्ने आधार बेसार खेती

गोकर्ण पौडेल
तुलसीपुर, चैत ९ गते । तुलसीपुर १९ सुन्दरखोलाका किसान शिवराम सार्की बेसार खेती गर्दै आउनुभएको छ । उहाँको जीवन धान्ने गतिलो अर्थउपार्जनको माध्यम बनेको छ, बेसार खेती । वार्षिक चारदेखि ६ क्वीन्टलसम्म काँचो बेसार उत्पादन गर्दै आएका शिवरामले बेसारको चाना बनाएर घट्टमा पिसाएर बेसार बिक्री गर्दै आउनुभएको छ । सार्कीले भन्नुभयो, ‘बेसार खेतीका लागि रासायनिक मल पनि आवश्यक पर्दैन, रोग कीरा नियन्त्रण गर्नका लागि विषादी पनि छर्कनुपर्दैन ।’ रोपेपछि एक पटक गोडमेल गरे राम्रै उत्पादन हुन्छ । बेसार प्रति केजी तीन सय रुपियाँमा बिक्री गर्दै आउनुभएको छ ।

मकै, गहुँ, जौ, तोरीभन्दा तेब्बर बढी आम्दानी बेसार खेतीबाट हुन्छ शिवराम सार्कीले भन्नुभयो । अन्य बालीका लागि रासायनिक वा कम्पोष्ट मल, सिंचाई अनिवार्य हुन्छ, बेसारका लागि खासै मिहिनेत पनि नपर्ने र मल पनि आवश्यक नपर्ने उहाँले बताउनुभयो ।

यस क्षेत्रबाट वार्षिकरुपमा ५० क्विन्टल बेसार उत्पादन हुँदै आएको अर्का किसान टीकाराम घर्तीले बताउनुभयो । किसानहरुले काँचोभन्दा सुकाएर घट्टमा पिसेर धुलो बेसार नै बिक्री गर्दै आएका छन् । घर्तीले भन्नुभयो, ‘यहाँको आयस्रोतको गतिलो माध्यम भनेको अदुवा, बेसार र मालागेडी खेतीको त्यसमध्ये सबैभन्दा भरपर्दो भनेकै बेसार खेती हो । किनकि बेसारमा रोग पनि लाग्दैन धेरै वर्षा भए पनि कुहिने डर हुँदैन ।’

अर्का किसान पूर्णबहादुर सार्कीले यस वर्ष पाँच क्विन्टल बेसार उत्पादन गर्नुभएको छ । सार्कीले भन्नुभयो, ‘पाँच क्विन्टल काँचो उत्पादन भएको हो, चाना बनाएर सुकाएर धुलो बनाउँदा एक क्विन्टल होला ।’

बेसारलाई आयुर्वेदशास्त्रमा सुनौलो चियाका रुपमा उपयोग गरिँदै आइएको समेत उहाँले बताउनुभयो । बेसार नेपालीहरुको भान्सा घरमा अत्यावश्यक मसलाका रुपमा प्रयोग गरिँदै आइएको छ । नरदेवी आयुर्वेद चिकित्सालयका डा. रामकामेश्वर यादवले नियमितरुपमा बेसारको चूर्णले स्वास्थ्यलाई फाइदा पु¥याउने बताउनुहुन्छ । बेसारको प्रयोगले रोगप्रतिरोधात्मक क्षमता बढाउने उहाँले बताउनुभयो ।