अर्थ |

नियन्त्रणमा लिइएका ट्रक विभाग पठाइयो

सचिन पोख्रेल

इटहरी, चैत ११ गते । राजस्व अनुसन्धान प्रादेशिक कार्यालय, इटहरीले नियन्त्रणमा लिएको सामानसहितका दुईवटा लहरी ट्रक आवश्यक छानबिनका लागि काठमाडौँ पठाएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट कम भन्सार तिरेर भित्र्याइएका ना. ७ ख ५८३ र प्र १ ०२ ०० १ ख ९५२७ नम्बरको दुईवटा ट्रक सामानसहित सोमबार अपराह्न नियन्त्रणमा लिई राजस्व अनुसन्धान प्रादेशिक कार्यालयको परिसरमा राखिएको थियो । सो कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनालले नियन्त्रणमा लिइएको सामानसहितको दुवै ट्रकलाई भन्सार विभागकै निर्देशनमा काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

प्रदेश १ का सशस्त्र प्रहरी महानिरीक्षक कमल गिरीका अनुसार राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बलकै सुरक्षामा सामानसहितका ट्रक काठमाडौँ पठाइएको हो । प्रतीतपत्र (एलसी) खोलेर चीनबाट आयात गरिएका सामान भारतको बन्दरगाह हँुदै काँकडभिट्टाबाट भित्रिएका हुन् । नियन्त्रणमा लिइएका दुवै ट्रकमा विभिन्न कम्पनीका जुत्ता चप्पल रहेको बताइएको छ । दुवै ट्रक सिलबन्दी रहेकाले के कस्ता सामान कति परिणाममा छ भन्नेबारे भन्न नसकिने कार्यालयले जनाएको छ ।

प्रज्ञापन पत्र, बिलबिजक र अन्य कागजपत्रमा उल्लेख गरिएका सामानको विवरण, गुणस्तर, परिमाण र मूल्यमा समेत फरक आउने आशङ्का राजस्व कार्यालयको छ । त्यही भएर यसको सम्पूर्ण कागजपत्र र सामानको विवरण, गुणस्तर, परिमाण र मूल्यसमेतको सूक्ष्म अनुसन्धान र छानबिन गर्न गाडी विभाग पठाइएको प्रमुख राजस्व अधिकृत खनालले बताउनुभयो । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले विभागमा प्राप्त सूचनाकै आधारमा इटहरी कार्यालयले गाडी नियन्त्रणमा लिएको र यसलाई सूक्ष्म अनुसन्धान र छानबिनकै लागि विभागमा झिकाइएको बताउनुभयो ।