मुगुको गमगढीमा एक हप्ता विद्युत आपूर्ति बन्द हुने
हरिकृष्ण ऐडी
मुगु, चैत ११ गते । गमगाड वितरण केन्द्र, मुगुले चैत १२ देखि १९ गतेसम्म विद्युत वितरण कार्य बन्द गर्ने भएको छ । मुहान मर्मत गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागेको केन्द्रले जनाएको छ । गएको बर्खामा भारी वर्षात हुँदा पानीको बहाब बढेपछि गमगाड जलविद्युतको मुहानलाई क्षति पुगेको र त्यसको मर्मतकार्य अगाडि बढाइएकोले आपूर्ति बन्द गर्नुपरेको केन्द्रका प्रमुख दिनेश पौडेलले बताउनुभयो । मर्मतकार्य शनिबारदेखि सुरु हुँदैछ ।
गमघाड जलविद्युतको मुहानमा इन्टेक मर्मत गर्नका लागि नेपाल विद्युत प्राधिकरणको ७१ लाखको आर्थिक लगानीमा रबिचक्र र हेमलडक जेबि फर्मले मर्मतको जिम्मा पाएको प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार मुहानको इन्टेक ३६ स्क्वायर मिटर मर्मत हुने भएको हो ।
प्रमुख पौडेलले गमगाड जलविद्युतमा दुईवटा मेसिन भए पनि स्थापनाकालदेखि एउटा मेसिन बिग्रेको र एउटा मेसिनबाट मात्रै विद्युत उत्पादन गर्नुपर्ने बाध्यता थियो । तर, हाल दुई वटै मेसिनबाट उत्पादन सुरु भएकोले लोडसेडिङको अवस्था नरहेको उहाँले बताउनुभयो । विद्युत उत्पादन बढेसँगै नगरपालिकाभित् रपर्ने फुली गाउँका ४० घरधुरीमा विद्युत सेवा विस्तार गरिएको छ ।
सात दिनसम्म विद्युत आपूर्ति बन्द हुँदा जिल्लाका सरकारी, गैरसरकारी कार्यालयलगायत जिल्लाको सञ्चारक्षेत्र लगायत विद्यार्थीलाई असर पुग्ने भएकाले केन्द्रले मुहान मर्मतकार्यमा आवश्यक जनशक्ति थप गरी छिटोछरितो निर्माणकार्य सम्पन्न गर्न जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले सुझाव दिनुभयो ।