अर्थ |

धादिङ उद्योग वाणिज्य सङ्घमा थपलिया निर्वाचित


मुरारी अधिकारी
धादिङ, चैत्र १४ गते । धादिङ उद्योग वाणिज्य सङ्घको १० औं अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद थपलिया निर्विरोध चयन हुनुभएको छ ।
आइतबार धादिङबेसीमा सम्पन्न अधिवेशनले थपलियाको अध्यक्षतामा २१ सदस्य निर्विरोध चयन गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा रामकुमार डल्लाकोटी चयन हुनुभएको छ । त्यस्तै उत्तरी क्षेत्रीय कार्यसमितितर्फ सरोज बुढाथोकीको अध्यक्षतमा आठ सदस्यीय, मध्य क्षेत्रीय कार्यसमितिको नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय र दक्षिणी क्षेत्रीय कार्यसमितितर्फ उमेश रुवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति र्विरोध चयन गरिएको छ ।
पाँच दिन अगाडिदेखि सुरु भएको अधिवेशनमा नेतृत्व चयनको विषयलाई दल निकट व्यवसायीहरु विभाजित हुँदा अधिवेशन सम्पन्न हुन लामो समय लागेको थियो । संस्था स्थापना भएको २८ वर्षपछि पहिलो पटक नेपाली काँग्रेस निकट व्यवसायी संस्थाको नेतृत्वमा पुगेका छन् । स्थापना समयदेखि नै संघको नेतृत्व माओवादी निकट व्यवसायीहरुले गर्दै आएका थिए ।