अनलाइनबाटै श्रम स्वीकृति
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १६ गते । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको हो । यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा लिन सक्नेछन ।
विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ । विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः श्रमस्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको जानकारी दिँदै संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभागले अबको १५/२० दिनभित्रै श्रम कार्यालयबाट हुने सबै सेवा अनलाइनबाट गरौँ भनेका छौँ तर प्राविधिक टोलीले भने केही समय थप्नुपर्छ भनेको छ, त्यसैले थोरै ढिला भए पनि अब छिट्टै अनलाइनमै जान्छौँ ।
वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रूपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएसँगै सेवाग्राही सेवा लिन कार्यालय आउनु नपर्ने बताउनुभयो । हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ ।
संस्थागत श्रमस्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ ।पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रमस्वीकृति लिने गरेको देखिन्छ । हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रमस्वीकृति जारी गर्दै आएको छ ।