मुलुक अहिले विद्युत निर्यात गर्ने अवस्थामा छ : अध्यक्ष प्रचण्ड
शालिग्राम नेपाल
चितवन, चैत १६ गते । पूर्वी चिवनको भण्डारामा १३२–३३–११ केभी सबस्टेसनको वुधबार उद्घाटन गरिएको छ । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका –६ स्थित हर्दीमा सबस्टेसनको निर्माण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबस्टेसनको उदघाटन गर्नुभयो । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा सवस्टेशन निर्माण थालिएको थियो । पूर्वी चितवनको उद्योग, कलकारखानामा विद्युतको लोड नपुगेको भन्दै दवाव दिएपछि स्टेशन निर्माणका लागि यसै क्षेत्रका सांसद पाण्डेले पहल गर्नुभएको थियो ।
चितवनको राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपियाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विधुतलाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुक अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो । अहिले लोडसेडिङ अन्त्य भएर निर्यातको अवस्थामा पुगेकोमा गर्व लागेको उहाँले बताउनुभयो । चितवनमा आगामी ४० वर्षसम्मको लोड धान्न सक्नेगरी विधुतको पूर्वाधार बनाइदिन नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङलाई आग्रह गर्नुभयो ।
अहिलेको सब स्टेशनले दुई तीन वर्ष धान्ने र त्यसपछि फेरि समस्या आउन सक्ने कुरा आफूले सुनेको बताउँदै अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणका घिसिङलाई थप पूर्वाधार बनाउने प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।
‘यो १३२ केभी सबस्टेशनले केही वर्ष त धान्छ । तर दुई तीन वर्षपछि फेरि समस्या आउनसक्छ । त्यसैले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न उहाँले स्थानीयलाई अनुरोध गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन विधुत महसुल सस्तो बनाइएको बताउनुृभयो । ‘पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०–५० प्रतिशत सस्तो विधुत हरेक क्षेत्रमा प्रयोग गरौं ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विधुत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको बताउनुभयो ।
सबस्टेसनमा १३२–३३ केभी, ३० एमभीए क्षमतार ३३–११ केभी, १६.६ एमभिए क्षमताका एक–एक वटा पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विधुत् आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएको विद्युत कार्यालयको बुझाई छ ।
यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नुपर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण, प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताउनुृभयो ।