अर्थ | शिक्षा |

किवी खेती– विद्यार्थीलाई सिकाइ विद्यालयलाई आम्दानी


नवीन शिशिर विक
बागलुङ, चैत्र १७ गते । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माविको कक्षा दशमा अध्ययनरत विद्यार्थी गत सोमबार विद्यार्थीभन्दा फरक भूमिकामा देखिन्थे । छात्राहरु बारी खन्दै, झार उखेल्दै, बारीको कान्ला तास्दै थिए । छात्रहरु विद्यालयभन्दा केही दूरी तलका बाँसघारीबाट असिनपसिन हुँदै बाँस बोकेर विद्यालयकाे करेसाबारीमा ओसार्दै थिए ।

विद्यार्थीको भूमिका व्यावसायिक कृषक जस्तो । उनीहरुको सहकार्य, करेसाबारी र बाँसघारीमा देखिएको सामूहिक कार्यले सामाजिक तथा सामूहिक कार्यको नमुना प्रदर्शन गरेको थियो । विद्यालयले विगत नौ वर्षदेखि विद्यालयको करेसाबारीमा व्यावसायिक शिक्षा अन्तर्गत किवी खेती गर्दै आएको छ । यस वर्ष पनि किवीको बिरुवा रोप्ने प्रयोजनको लागि नर्सरी तयार तथा बिरुवालाई आवश्यक पर्ने टनेल निर्माण गर्न सोमबार विद्यार्थीहरु कृषकको भूमिकामा देखिएका हुन् ।

करेसाबारीमा काम गर्ने दिन विद्यार्थीले विद्यालय पोशाक प्रयोग गर्दैनन् । कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यावहारिक अभ्यास गर्ने विज्ञान विषयका शिक्षक नरबहादुर पच्याले जानकारी दिनुभयो । किवी उत्पादनबाट प्राप्त हुने आम्दानी विद्यालयको खातामा बाँधिन्छ ।

किवी खेती व्यावसायिक शिक्षासँगै पाठ्यवस्तुसँग पनि जोड्ने गरिन्छ । विशेष गरी किवीको फूल खेल्ने बेला विद्यार्थीहरुलाई बिरुवाको प्रजनन् (परागसेचन)बारे जानकारी दिइने गरिन्छ । किवीको भाले बिरुवाले उत्पादन दिँदैन । फूल लाग्ने समयमा माहुरी, भमरा जस्ता जीवले कसरी परागकण पोथी अङ्गमा पुर्याउन मद्त गर्छ भन्ने विषयमा विद्यार्थीहरुलाई ‘फिल्ड’मै पुगेर अध्यापन गर्न लगाउने गरेको शिक्षक पच्याको भनाइ छ ।

विशेष गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयको जग्गामा करेसाबारी निर्माण गरिएको थियो । पूर्वव्यावसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई अभ्यास शिक्षणका लागि तयार गरेको नर्सरी विद्यालयलाई पनि आम्दानीको स्रोत बनेको छ ।

तल्लो कक्षामा पढने विद्यार्थीले किवीको बिरुवा आसपासमा सिमीलगायतका तरकारी खेती पनि गर्ने प्रधानाध्यापक कमला थापाले बताउनुभयो । पहिलो वर्ष १६० किलो किवी विक्री भएको थियो । गत वर्ष मौसम प्रतिकुल हुँदा ९९ किलो किवी २५० रुपियाँको दरले विक्री गरेको प्रअ थापाको भनाइ छ । उत्पादन भएको किवी सुरुमा विद्यार्थीलाई बाँडेर बाँकी रहेको मात्रा स्थानीय समुदायलाई सस्तो मूल्यमा विक्री गरिन्छ ।

धारा मावि जिल्ला सदरमुकामदेखि २५ किल मिटर उत्तरतर्फको दूरीमा पर्छ । सो विद्यालय मावि वि.स २०६३ सालदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भयो । ०६६ सालमा आफ्नै स्रोतबाट कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको थियो । माविको ११ र १२ मा शिक्षा, मानविकी, विज्ञान विषयको पठनपाठन हुँदै आएको छ ।

विद्यालयको १–१० लाई भौतिक संरचना पर्याप्त भए पनि ११ र १२ कक्षा सञ्चालनमा पूर्वाधार अभाव भएको प्रअ थापाको भनाइ छ । ११ र १२ को लागि आठ वटा कक्षा तथा प्रयोगशाला र पुस्तकालय स्थापना गर्न कोठा अपुग छ ।