एघार कम्पनीको चासो
लक्ष्मण पौडेल
भैरहवा, चैत १९ गते । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ । ‘क्यालिब्रेसन’ उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता भएको ‘क्यालिबे्रसन’ उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको छ ।
वैशाख ९ गतेदेखि पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले यो विमानस्थल सञ्चालनमा आइसकेपछि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसक्ने अवस्थामा अब भैरहवामा अवतरण हुने बताउनुभयो ।
भैरहवा विमानस्थलबाट यात्रा सस्तो पर्ने र लुम्बिनी आउने पर्यटक बढ्ने सरकारको अपेक्षा छ । लुम्बिनी विकास कोषले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि लुम्बिनी आउने विदेशी पर्यटक दोब्बर हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्य भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सिधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।
जजिरा एयरवेजबाट दैनिक उडान
यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न पाँच मुलुकका ११ भन्दा बढी कम्पनीले चासो देखाएका छन् । ती विमान सेवा कम्पनीमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर छन् ।
व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्नेछ । प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको हो ।
अन्य विमान कम्पनीले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको प्राधिकरणका प्रवक्ता कर्णले बताउनुभयो । “अरू कम्पनीले आफ्नो योजना बनाइरहेका होलान् तर हामी जजिराले सबभन्दा अगाडि इच्छा देखाइसकेकाले हामी उत्साहित भएका छौँ,” उहाँले भन्नुभयो । जजिरा एयरवेजले हाल काठमाडौँ–कुवेत दैनिक उडान गर्दै आएको छ । विशेषगरी नेपाली श्रमिकका गन्तव्य मुलुकका हवाई कम्पनीको चासो बढी छ तर कुन कुन कम्पनीले उडान सुरु गर्छन् भन्ने अहिलेसम्म यकिन छैन ।
आन्तरिक तयारी तीव्र
विमानस्थलको आन्तरिक काम भने तीव्र रूपमा भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन, सुरक्षा युनिट, आयल निगम, भन्सार स्थापना गर्ने काम भइरहेको विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभयो ।
हवाई मार्गमा सहमति जुट्न बाँकी
भारतसँग संयुक्त हवाई मार्ग र वैकल्पिक मार्गलगायतका विषयमा भने सहमति जुटाउन बाँकी छ । भैरहवाका लागि विमान प्रवेशबिन्दु हालका लागि सिमरा मात्रै हो ।
महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा वैकल्पिक मार्गका लागि नेपालले प्रस्ताव गरे पनि भारतले हालसम्म अनुमति दिएको छैन । योसँगै विमानस्थलमा आइपर्ने अन्य समस्या समाधान गर्न भारतसँग संयुक्त हवाई क्षेत्र प्रयोगमा सहमति कायम गर्न विज्ञको सुझाव छ । यसमा कूटनीतिक पहल भएको छैन । प्राधिकरणका प्रवक्ता कर्णले नेपाल र भारतका बीचमा आपसी वार्ता गरेर सहमति कायम गर्नुपर्ने बताउनुभयो ।