अर्थ |

‘अब सहकारी केन्द्रित उत्पादन’

दमक समाचारदाता

दमक, चैत २० गते । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले गरिबी निवारण र उत्पादनको क्षेत्रमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।झापाको बिर्तामोडमा शनिबारदेखि सुरु भएको जिल्लास्तरीय सहकारी सम्मेलनको उद्घाटन गर्दै उहाँले सहकारी केन्द्रित उत्पादन हुन जरुरी भएको विचार व्यक्त गर्नुभयो । राज्यले पनि सहकारीलाई आर्थिक मेरुदण्ड मानेको चर्चा गर्दै उहाँले आयातलाई कम गरेर निर्यात बढाउन सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

कृषि व्यवसायलाई परम्परागत र निर्वाहमुखी नभएर उत्पादनमुखी बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “उत्पादनको क्षेत्रमा काम गर्न कुनै समस्या रहे यसका लागि आवश्यक नीति, नियम बनाउन सरकार तयार छ । ” ६५औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष गणेश ढकालले सम्मेलनमा सहकारीसँग सम्बन्धित रहेर विभिन्न कार्यपत्र प्रस्तुत हुने बताउनुभयो ।

सहकारी क्षेत्रको विकास र सहकारीमैत्री समाज निर्माणका लागि आफूहरूले सकेको सहयोग गर्ने सो कार्यक्रममा राजनीतिक दलका स्थानीय नेतृत्वले साझा प्रतिबद्धता पनि जनाएका छन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले झापामा सहकारीको सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले झापा सहकारीको क्षेत्रमा उदाहरणीय जिल्ला भएको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढ्दै गएको बताउनुभयो । यसैबीच सङ्घले यो वर्षको झापा सहकारी सम्मान पुरस्कार दीपकप्रकाश बाँस्कोटालाई प्रदान गर्ने सार्वजनिक गरेको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपियाँ रहेको सङ्घका अध्यक्ष ढकालले बताउनुभयो । पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मी लक्ष्मण ढकाललाई प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । दुवै पुरस्कारको राशि नगद १० हजार ५५५ रुपियाँ रहेको छ ।