अर्थ |

फलामे डन्डीको मूल्य अध्ययन हुँदै

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डन्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको छ । विभागले १० दिनअघि विवरण बुझाउन दिएको निर्देशनअनुसार उद्योगीले बुझाएको विवरणको अध्ययन गर्न थालेको हो । विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले नेपाल स्टिल रोलिङ मिल एसोसिएसनमार्फत संयुक्त रूपमा सबै उद्योगीको विवरण आएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले उद्योगीबाट आएको विवरणलाई विभागले प्राथमिकता दिएर अध्ययन गर्ने काम गरेको बताउनुभयो ।

डन्डीको मूल्यका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि चासो देखाएकाले विभागमा उपलब्ध विवरण वाणिज्य सचिवलाई समेत बुझाइएको महानिर्देशक श्रेष्ठको भनाइ छ । उहाँले उत्पादन मूल्य र बजार मूल्य अन्तरको अध्ययन गरेर जायज नभए उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिने बताउनुभयो ।

उद्योगीले पठाएको विवरणमा फलामको डन्डी उत्पादनमा प्रयोग हुने मुुख्य कच्चा पदार्थ बिलेट र स्पनआइरन विदेशबाट आयात गर्नुपर्ने र ती सामान विदेशमै सेयर मार्केटजस्तै छिनछिनमै बढ्ने गरेकाले यसको असर नेपाली बजारमा परेको उल्लेख छ ।

यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी बढेको छ र बैङ्क ब्याज सबैले गर्दा यसको मूल्य थप महँगो भएको विवरणमा उल्लेख छ । निर्माण व्यवसायीले भाउ बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले यही चैत ८ गते उद्योगीलाई बोलाएर मूल्य बढ्नुका कारण पेस गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार उद्योगीले विमागसमक्ष उक्त विवरण पेस गरेका हुन् ।

विभागका अनुसार काठमाडौँ स्टिल, हामा स्टिल, जगदम्बा, हुलाक स्टिल, पञ्चकन्या स्टिल, प्रिमियर स्टिल, हुलास स्टिललगायत एसोसिएसनसँग आबद्ध सबैले संयुक्त विवरण बुझाएका छन । डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो ।

उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् । उद्योगहरूले डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यस्तो कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमै महँगो भएको छ ।विभागका अनुसार डन्डीको भाउ अन्तर्राष्ट्रिय स्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नुपथ्र्यो र कति बढ्यो भन्ने मात्रै अहिलेको खोजीको विषय हो । पछिल्ला दुई÷तीन महिनामा डन्डीको भाउ प्रतिकेजीमा ३० देखि ३५ रुपियाँसम्म बढेको पाइएको छ ।

निर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे भाउ बढेको भन्दै विरोध गर्दै आएका छन् । रुस र युक्रेनको युद्धको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको उनीहरूको दाबी छ ।