अर्थ |

शीतभण्डार बन्ने

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २१ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुदान सहयोगमा डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घले शीतभण्डार निर्माण गर्ने भएको छ । कोभिड–१९ को महामारी र त्यसबाट भएको बन्दाबन्दीले गर्दा दूध तथा दुग्धजन्य पदार्थमा झेलेको समस्याका कारण डेरी उद्योगीले सामूहिक रूपमा शीतभण्डार निर्माण गर्न लागेका हुन् ।

कृषि मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान सहयोग र डेरी व्यवसायीको लगानीमा चितवनस्थित चितवन मिल्क लिमिटेडको जग्गामा शीतभण्डार निर्माण कार्य अगाडि बढेको सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।
चितवन मिल्क लिमिटेडले निःशुल्क जग्गा उपलब्ध गराएको छ । उहाँले भन्नुभयो, “कोरोनाको समयमा हामीले उत्पादन गरेको दुग्धजन्य पदार्थ भण्डार गर्ने ठाउँ नपाएर निकै दुःख पायौँ । त्यही दुःखका कारण हामी उद्योगी कोल्डस्टोर स्थापना गर्न लागेका हौँ ।

” सङ्घले जारी गरेको बोलपत्रबाट एयर फ्लो इन्डस्ट्रिज प्रालि कपन काठमाडौँले सो शीतभण्डार निर्माण गर्ने पाएको हो । एक करोड ४९ लाख ४० हजार ९४८ रुपियाँको बोलपत्र स्वीकृत गरेको अध्यक्ष दाहालले बताउनुभयो । यो शीतभण्डारको कुल लागत दुई करोड रुपियाँ रहेको र त्यसमा कृषि मन्त्रालयले ५० प्रतिशत अनुदान रहेको छ । अबको चार महिनामा निर्माण सम्पन्न हुने सो शीतभण्डारमा सात टनका नौवटा र १५ टनका दुईवटा भण्डार गर्ने स्टोर रहनेछन् ।