अर्थ |

लघुवित्तको ऋणको सास्ती

प्रतीक इच्छुक शमा
सल्यान, चैत २८ गते । बचत मात्र नभएर आवश्यक पर्दा ऋणसमेत उपलब्ध गराएर ग्रामीण जीवनलाई लघुवित्तहरुले सहज बनाउन सहयोग पु-याएका छन् । तर, लघुवित्तकै कारण कतिपयको भने घरबास नै उठिवास भएको छ । लघुवित्तबाट लिएको ऋण लिएर तिर्न नसक्दा सल्यानका कति महिलाले गाउँ छाडेका छन् भने कतिले त आफ्नै जीवनको अन्त्यसमेत गराएका छन् ।

दुई वर्षअघि शारदा नगरपालिका पटनेरीकी तिलकुमारी रावतले व्यापार गर्न भन्दै विभिन्न लघुबित्तबाट लिएको ऋण समयमै तिर्न नसकेपछि तनावमा परेकी उहाकाी १६ वर्षीया छोरीले आत्महत्या गरिन् । पटनेरीकै बिन्दु बिकले पनि बाखापालन गर्न लिएको चार लाख ऋण तिर्न नसक्दा श्रीमानसँग झगडा भयो र घर छाडेर आत्महत्याको प्रयाससम्म गर्नु भयो । यी त केही उदाहरण मात्र हुन् । लघुवित्तबाट ऋण लिएर तिर्न नसकेका अधिकांश महिला फरार छन् ।

कुमाख गाउँपालिका बडागाउँकी ठगी केसी पनि लघुवित्तको ऋण तिर्न नसक्दा घर छाडेर हिँडेकी छन् । लघुवित्तहरुले ऋण लगानी गर्दा आयस्रोत नहेर्ने र धितो पनि नखोज्ने गर्दा धेरै जसो महिलाले पीडा भोग्नु परेको छ । शारदा नगरपालिका–१ कि वसन्ता परियारले लघुवित्तले आफ्ना घरमा रहेका समान उठाएर लैजाने धम्की दिएको बताउनुभयो ।

सल्यानका हरेक गाउँमा लघुवित्तहरुले महिलाका समूह गठन गरेर ऋण परिचालन गरेका छन् । तर, तिर्न नसकेर सम्पर्कविहीन हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । आफ्ना सदस्य बढाउने होडबाजीमा एउटा लघुवित्तको ऋण नतिरेकाहरूलाई जबर्जस्ती ऋण दिँदा महिलाहरू ऋणको पासोमा फसेको स्वयम् लघुवित्तका कर्मचारीसमेत बताउँछन् ।

स्वावलम्वन वित्तीय संस्थाका प्रमुख हरिकुमार बोहराले आर्थिक कारोबार गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार लिएको ऋण सहि प्रयोजनमा लगाउन नसक्दा समस्या बढ्दै गएको छ ।

लघुवित्तलाई आर्थिक विकासका लागि प्रभावकारी साधन मानिन्छ । यसले गरिब र लक्षित समुदायको आर्थिक स्थिति उकास्न, लैङ्गिक अन्तरलाई कम गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न सहयोग गर्छ । सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कसैले ठगि गरेको भए कानुनी उपचार खोज्न सकिने बताउनुभयो ।

ऋण सही ठाउँमा सदुपयोग नगर्दा आउने समस्याजटिल समस्या प्रति भने ऋण लिने र दिने दुवै पक्ष जीम्मेवार हुनु पर्ने प्रजि अ आचार्यको भनाइ छ ।