अर्थ |

हुम्लामा ८६० हेक्टरमा आलुखेती

राजन रावत
हुम्ला, चैत २९ गते । हुम्लाका किसानहरुले यस वर्ष आलुखेतीलाई विस्तार गर्नुभएको छ । आलुखेतीबाट किसान प्रत्यक्ष लाभान्वित हुन थालेपछि यसको विस्तार भएको हो ।

सिमकोट गाउँपालिका–५ की किसान बाँचु रावतले अधिकांश जग्गामा आलु खेती लगाउन सुरु गरेको बताउनुभयो । उहाँले यसवर्ष चार रोपनीभन्दा बढी जग्गामा आलु खेती गर्नुभएको हो । उहाँले अन्य खेतीभन्दा आलु खेतीबाट प्रत्यक्ष फाइदा हुने देखिएपछि यसको विस्तारमा लागेको बताउनुभयो । आलु खेतीमा किसान आर्कषित भएसँगै किसानलाई आलुखेतीको चटारो सुरु भएको छ ।

यता, सिमकोट– ३ की च्यामा लामाले गाउँ भरी आलुखेती गर्ने किसानको सङ्ख्या वृद्धि भएको बताउनुभयो । उहाँले २३७ घरधुरी भएको सो वडामामा प्रत्येक परिवारले कम्तीमा तीन रोपनी जग्गामा आलुखेती सुरु गरेको बताउनुभयो । किसानलाई नगदै हातमा पर्ने भएको कारण अन्य बालीभन्दा आलुखेती गर्न केहीँ सहज भएको कारण पनि आलु लगाउने सङ्ख्यामा वृद्धि भएको हो । उहाँले परम्परागत रुपमा आलुखेती गरिँदै आएकोमा अहिले किसानले आधुनिक विधि ड्याङ बनाएर आलुखेती सुरु भएको बताउनुभयो । यसबाट किसानलाई लगाएको आलु कुहिने समस्याबाट मुक्ति मिल्ने विश्वास किसान रहेका छन् ।

बिरलै रुपमा लगाउने गरिएको आलुखेती पछिल्लो समय यसलाई व्यावसायिक रुपमा खेती गर्ने किसानको सङ्ख्या वृद्धि भएको कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले बताउँदै हुम्ला जिल्ला आलुखेतीका लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले यसवर्ष जिल्लाभरि ८६० हेक्टर जमिनमा आलुखेती सुरु भएको बताउनुभयो । उहाँले यति धेरै हेक्टरमा आलुखेती सुरु गरिनु व्यावसायिक खेतीतर्फ किसान लागेको बताउनुभयो । गतवर्ष हुम्लामा सात हजार ५१० मेट्रिकटन आलु उत्पादन भएको कार्यालयले जनाएको छ । हुम्लाका सात वटै गाउँपालिका मध्य सिमकोट, नाँम्खा, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली बढी उत्पादन हुने गर्छ भने ताँजाकोट र अदानचुलीमा पनि हुने गर्छ ।