शिक्षा | मुख्य समाचार |

वैकल्पिक विधिलाई छिट्टै मान्यता

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षण विधिलाई नै अब मान्यता दिएर अघि बढ्ने सरकारको योजना रहेको बताउनुभएको छ । यसका लागि सहजीकरण निर्देशिकाको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
अनेरास्ववियुले बुधबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले सहज परिस्थिति नआएसम्म भर्चुअल विधिबाटै विद्यार्थीको पठनपाठन अघि बढाउनुपर्ने अवस्था आएको स्पष्ट पार्नुुभयो । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गरिने र निजी विद्यालयको विद्यार्थीको शुल्कको मापदण्ड बनाउने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
कक्षा १२ को स्थगित परीक्षालाई पनि छिट्टै सञ्चालन गरिने र यसका लागि सबै पक्षसित समन्वय गरिने उहाँले प्रतिबद्धता जनाउनुभएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिनुभयो । यसका साथै विद्यालयका होम क्वारेन्टाइन र आइसोलेसन हटाउन पहल गरिने जनाइएको छ । अनेरास्ववियुका संयोजक ऐन महरले वैकल्पिक शिक्षामा सबैलाई समेट्नुपर्ने विचार व्यक्त गर्नुभयो ।