शिक्षा |

कक्षा १२ को परीक्षा मोडालिटीबारे छलफल

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २१ गते । शैक्षिक गुणस्तर कायम हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता पाउने हिसाबले कक्षा १२ को परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने सुझाव सरोकारवालाले दिएका छन् । उनीहरूले कक्षा १२ को परीक्षाका बारेमा फरक फरक मोडालिटीमा राष्ट्रिय
परीक्षा बोर्डले तयारी गर्नुपर्ने तर कक्षा १० र ११ को जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा १२ को परीक्षा अगाडि बढाउन नहुने आँैल्याइए ।
शनिबार आयोजित एक भर्चुअल कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका (एन प्याब्सन) महासचिव सुवास न्यौपानेले परीक्षाले विद्यार्थीमा निराशा वृद्धि हुनसक्ने जोखिम भएकाले राज्य गम्भीर हुनुपर्ने विचार व्यक्त गर्नुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका (प्याब्सन) सह अध्यक्ष डीके ढुङ्गानाले सङ्क्रमण बढेकाले विगतकै जस्तो सहजता खोज्न नहुने बताउनुभयो । उच्च शिक्षालय तथा शैक्षिक सङ्घ (हिसान) का सचिव रामहरि सिलवालले परीक्षा रोकिएको पाँच महिनापछि बल्ल परीक्षाका बारेमा सुझाव लिन थालिएकोमा गुनासो व्यक्त गर्नुभयो ।