शिक्षा | मुख्य समाचार |

सङ्कटमा शिक्षकबाटै सिकाइ सम्भव


शेषकान्त पण्डित

काठमाडौँ, असोज १९ गते । नेपालमा गुणस्तरीय शिक्षाको माग बढिरहेका बेला कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण विगत छ महिनायता विद्यार्थी–शिक्षकको बीचमा कक्षाकोठामा भेटघाट हुनसकेको छैन । विद्यार्थी–शिक्षकबीच संवाद हुन नसकेको अहिलेको अवस्थामा न्यूूनतम सिकाइ उपलब्धि हासिल हुने कुरामा समस्या हुनसक्ने आँैल्याइएको छ ।
यो जटिल अवस्थामा भविष्यको परिकल्पना गर्दै सङ्कटको अवस्थामा शिक्षकले नेतृत्व गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शिक्षक दिवसको अवसरमा शिक्षकका अगुवाहरूले विद्यार्थीको सिकाइ सहजीकरणमा कर्तव्यनिष्ठ भएर शिक्षकहरू जुट्नुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को)ले अक्टोबर ५ लाई विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर शिक्षक दिवस मनाउने गरेको छ ।

शिक्षक असल सहयोगी
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा विद्यार्थी–शिक्षकबीच लामो समयदेखि अवरुद्ध शिक्षण सिकाइमा सहजीकरण गर्न महासङ्घमा आबद्ध शिक्षकहरू तयार रहेको र शिक्षकहरूलाई पनि यसमा तयारी रहन निर्देश गरिएको बताउनुभयो । उहाँले शिक्षक असल सहयोगी भएको बताउनुुभयो । शिक्षकको क्रियाशिलताबाटै यो सङ्कटपूूर्ण घडीमा शिक्षाको गाडी गुुड्ने उहाँको भनाइ छ । शिक्षकलाई वैकल्पिक विधिको माध्यमबाट सुरु गरिएको सिकाइ सहजीकरणमा शिक्षकका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता उहाँले जनाउनुभयो । सङ्क्रमणका कारण लामो समयदेखि शिक्षक–विद्यार्थीको भेटघाटमा पठनपाठन हुन नसकेको स्पष्ट गर्दै उहाँले छिट्टै जनजीवन सामान्य हुने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय केही स्थानीय तहले विद्यालय खोल्ने तर स्थानीय प्रशासनले बन्द गर्ने गरेका कारण केही समस्या सिर्जना भएकाले त्यसमा स्थानीय, प्रदेश र सङ्घीयका बीचमा थप समन्वय हुनुपर्ने आवश्यकता आँैल्याइएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी सरकारले घोषणा गरेको वैकल्पिक सिकाइ सहजीकरणको निर्देशिकालाई कार्यान्वयन गर्न शिक्षकहरू एकजुट र क्रियाशील हुनु नै अहिलेको मुख्य आवश्यकता भएको बताउनुभयो ।

तलबविहीन छन् शिक्षक
विश्वभर शिक्षक दिवस मनाइएका बेलामा नेपालका निजी विद्यालयका शिक्षक भने विगत छ महिनादेखि तलब सुविधाबाट वञ्चित छन् । सङ्गठनका अध्यक्ष अधिकारीले नेपाली शिक्षकका लागि यो विडम्बनापूर्ण अवस्था रहेको बताउनुभयो ।
निजी विद्यालयका झन्डै दुई लाख शिक्षकले विगत छ महिनादेखि तलब सुविधाबाट वञ्चित हुनु तर सरकार संवेदनशील नहुुनुले अनौठो अवस्था सिर्जना भएको छ । सामुदायिक विद्यालयका शिक्षक भने तलब सुविधाबाट वञ्चित छैनन् र कक्षाकोठामा विद्यार्थीसित भेटघाट भने हुन सकेका छैनन् भने वैकल्पिक पहुुँच पनि असाध्य कम छ । यो विडम्बनापूूर्ण अवस्था सुखद नभएको उहाँ बताउनुहुन्छ । नेपालमा विद्यालय तहमा चार लाखभन्दा बढी शिक्षक कार्यरत छन् ।

 शिक्षक सक्षम बनौँ
राजधानीको नीलवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेलले शिक्षक सर्वप्रथम आफू परिस्थिति अनुसार अगाडि बढ्न सक्ने गरी तयारी हुनु नै अहिलेको आवश्यकता भएको बताउनुभयो । त्यसका लागि शिक्षक प्रविधिमा दक्ष र सक्षम हुनुपर्ने र यसो हुने सके मात्र विद्यार्थीको न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने उहाँको भनाइ छ ।
यसैबीच युनेस्कोले अक्टोबर ५ अर्थात् सोमबार मनाउने शिक्षक दिवसका अवसरमा यसपटक सङ्कटमा नेतृत्व, भविष्यमा पुनः विचार भन्ने नारा तय गरेको छ । सङ्कटका बेला शिक्षकले नेतृत्व गर्नुपर्छ भन्ने नै यस नाराको मुख्य आशय रहेको जनाइएको छ ।
नेपालका शिक्षक तथा शिक्षासम्बद्ध संस्थाहरूले विश्व शिक्षक दिवस मनाउने गरे पनि यसपटक भौतिक रूपमा कुनै कार्यक्रम राखिएको छैन । आजको दिन शिक्षकलाई सम्मान तथा सम्झना समेत गर्ने गरिन्छ । सन् १९६६ मा शिक्षकको सुविधा, जिम्मेवारी, सेवा सुरक्षा, सेवा अवस्था लगायतकालाई राष्ट्रसङ्घले आत्मसात् गरेको दिनलाई आधार मानेर सन् १९९४ देखि अक्टोबर ५ तारिखका दिन विश्व शिक्षक दिवस मनाउने गरिएको हो । यो २७आँै दिवस हो ।