शिक्षा |

विद्यालय तहको स्थगित परीक्षालाई छिट्टै गर्ने तयारी भइरहेको : मैनाली

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १९ गते । शिक्षाको नीति तथा कानुन निर्माण गर्दा शिक्षक लगायत सरोकारवालाको सहभागिता बनाउने प्रतिवद्धता जनाइएको छ । विश्व शिक्षक दिवसको अवसरमा महिला शिक्षक समाजले आयोजना गरेको भर्चुअल छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यान्वयनको सहजताका लागि पनि सरोकारवालाकै उपस्थितिमा कानुन निर्माण गरिने बताउनुभयो । शिक्षकलाई आफनो अधिकारका साथै कर्तब्यप्रति पनि सचेत हुन उहाँले आग्रह गर्नुभयो । शिक्षा सम्बन्धी धेरै ऐन नियम बन्न वाँकी रहेको उहाँको भनाइ छ । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्दै प्रतिवद्धता सचिव मैनालीले जनाउनुभयो । विद्यालय तहको स्थगित परीक्षालाई छिट्टै गर्ने हिसाबले तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।
युनेस्को काठमाडौँका शिक्षा प्रमुख बलराम तिमिल्सनाले शिक्षककै नेतृत्व र सहभागितामा महामारीबाट निकास पाउने विश्वास व्यक्त गर्नुभयो । शिक्षकको सहभागितामा नीति निर्माण गर्न सकिए त्यसको कार्यान्वयनमा सहज हुने उहाँको भनाइ छ । शिक्षक सक्षम, तालिम प्राप्त हुनुका साथै पेशाप्रति प्रतिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो । आयोजक संस्था महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका पौडेल तथा उपाध्यक्ष रीता तिवारी लगायतले दक्ष नागरिक उत्पादन गर्ने कार्यमा आफनो जिम्मेबारी बहन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
संकटमा नेतृत्व, भविष्यमा पुनःविचार भन्ने नाराका साथ २७ औँ विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइएको छ । अक्टोबरको ५ गते विश्व शिक्षक दिवस परम्परा सन् १९९४ देखि सुरु गरिएको हो । सन् १९६६ मा शिक्षकको सुविधा, जिम्मेवारी, सेवा सुरक्षा, सेवा अवस्था लगायतलाई राष्ट्रसंघले आत्मसाथ गरेको दिनलाई आधार मानेर सन् १९९४ देखि अक्टोबर ५ तारिखका दिन विश्व शिक्षक दिवस मनाउने गरिएको हो । यो २७ आँै दिवस हो