शिक्षा | खुला |

हुम्लामा धमाधम पठनपाठन हुँदै  

सिमकोट, कात्तिक १३  गते। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको हो । लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्सिने भएका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । वडा नं ६ लिमीका दुई विद्यालयमा बाह्रै महिना नियमित पठनपाठनका लागि अनुमति दिएको र अन्यका लागि बुधबार दिइएको अध्यक्ष लामाले बताउनुभयो    
    
नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यामिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्ला बाहिरका भएका कारण पीसीआर अनिवार्य गरीएको हो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा शुरु गरिएको हो । कात्तिक ७ गते विद्यालय व्यवस्थापन समितिले १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भए पनि बुधबार शिक्षक, विद्यार्थी र अभिभावकले छलफल गरेका कारण कक्षा सञ्चालन नभएको हो ।    
    
महाबौद्ध माध्यामिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्मका लागि पडनपाठन हुने भएको छ । सोही पालिकामा १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा एक हजार ६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य विद्यालय पनि एकदुई दिनमा सञ्चालनमा आउने भएका छन् ।    
    
यस्तै हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालय यही कात्तिक १६ गतेदेखि पढाइ शुरु गर्ने भएका छन् । कात्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकअनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालय खोल्ने निर्णय भएको अदानचुली गाउँपालिकाका अध्यक्षक्ष दल फडेराले बताउनुभयो ।     
    
लामो समयदेखि विद्यालय बन्द रहेकाले अदानचुली गाउँपालिका भरीका सम्पूर्ण सामुदायिक विद्यालयलाई कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने भएकाले नियमित रुपमा पठनपाठन शुरु गर्न शिक्षक/कर्मचारीलाई आ–आफ्नो विद्यालयमा हाजीर हुन पत्राचार गरेको अध्यक्षले बताउनुभयो । सावधानी अपनाई गाउँपालिकाका सबै बिद्यालय सञ्चालन गरिने भएको छ ।    
    
यस्तै जिल्लाको खार्पुनाथ, ताँजाकोट र सर्केगाड गाउँपालिकाले कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको खार्पुनाथ गाउँपालिकाले जनाएको छ । हुम्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र शुरु भएर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न हुने गर्छ । तीन महिना हिउँदे बिदा हुने भएका कारण यहाँका स्थानीय तहले धमाधम विद्यालय सञ्चाल गर्ने तयारीमा जुटेका छन् । मङ्सिरमा वार्षिक परीक्षा हुनेभएका कारण कोरोनाबाट बच्ने सुरक्षा सावधानी अपनाउँदै पढाइ सञ्चालन गर्ने भएका छन् ।