शिक्षा |

जीवनोपयोगी शिक्षा आजको आवश्यकता


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । सबै विषय तथा तहमा अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सुझाव विज्ञहरूले दिनुभएको छ । शनिबार आयोजित ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सान्दर्भिकता र कार्यान्वयनमा देखिएको अन्योल’ विषयक छलफल कार्यक्रममा विज्ञ तथा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य विमल फुुँयालले जीवनोपयोगी शिक्षा कक्षा ११ र १२ मा मात्रै नभई उच्च शिक्षाका विद्यार्थीलाई पनि अध्यापन गराउनुपर्ने बताउनुभयो ।
नेपाली विद्यार्थीले जुनसुकै विषय वा तहमा अध्ययन गरे पनि नेपाली समाजको बारेमा अध्ययन गर्नुपर्ने र शिक्षा जीवनोपयोगी हुनुपर्ने उहाँको तर्क छ ।
शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले शिक्षकलाई अभिमुखीकरण गरी विद्यार्थीलाई जीवनोपयोगी शिक्षाको पठनपाठन गराउनु अहिलेको समयमा सान्दर्भिक भएको विचार व्यक्त गर्नुभयो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सामाजिक अध्ययन शाखाका प्रमुख रेनुका पाण्डेले सबै विद्यार्थीलाई सामाजिक तथा जीवनोपयोगी शिक्षा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले तिहारलगत्तै कक्षा ११ को सामाजिक विषयको अध्यापन गर्ने शिक्षकलाई अभिमुखीकरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका पूर्वसहसचिव डिल्ली रिमालले विज्ञान, इञ्जिनियरिङ लगायतका सबै विषयको अध्ययन गर्ने विद्यार्थीलाई नेपाली समाज तथा जीवनोपयोगी शिक्षाका बारेमा जानकारी हुनुपर्ने बताउनुभयो । कक्षा ११ सामाजिक अध्यापन गर्ने शिक्षक गोविन्द भण्डारी र मीरा न्यौपानेले पाठ्यक्रमकै आधारमा थप खोजबिन गरेर अध्यापन गर्न सक्ने गरी शिक्षकले तयारी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।