शिक्षा | खुला |

शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द

वीरेन्द्रनगर समाचारदाता
सुुर्खेत, मङ्सिर १५ गते । शिक्षकलाई कोरोना संक्रमण देखिए पछि विद्यालय बन्द गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नं ४ साहारेमा रहेको जनसेवा आधारभुत विद्यालयमा एक जना शिक्षकलाई कोरोना संक्रमण देखिए पछि विद्यालय बन्द गरिएको हो ।
एक जना शिक्षकलाई लक्ष्णसहित कोरोना संक्रमण देखिएकाले अन्य शिक्षक, विद्यार्थी र समुदायमा कोरोना संक्रमण हुने जोखिम रहेकाले सोमबारदेखि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बम बहादुर केसीले जानकारी दिनुभयो ।
वडा कार्यालयको समन्वयमा मंसिर १९ गते शुक्रबारसम्म विद्यालय बन्द गरिएको हो । वडा अध्यक्ष प्रशन्न कुमार शाहले शिक्षकमा कोरोना संक्रमण देखिए पछि नगरलाई खबर गरेर बन्द गरिएको बताउनु भयो । उहाँका अनुसार शिक्षकलाई चारपाँच दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएका थिए । परीक्षण गराउन कोरोना संक्रमण देखिए पछि केही समयका लागि विद्यालय बन्द गर्नुपर्ने आपत्तकालिन अवस्था आएकाले विद्यालय बन्द गरिएको उहाँको भनाई छ । उहाँले शिक्षकले पढाउने एउटा कक्षाका करिब २२ जना विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुको कन्ट्याक टे«सिङको आधारमा स्वाव संकलन गरिएको जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुलाई घरमै सुरक्षित र सचेत भएर बस्न भनिएको उहाँले बताउनुभयो ।
सरकारले विद्यालय पुनः संचालन कार्यढाँचा तयार गरेर कोरोनाका कारण बन्द भएका विद्यालयहरुको पुनः संचालन र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिए पछि अधिकाँश विद्यालय संचालनमा आएका छन । विद्यालय संचालन भए पनि कोरोना संक्रमणको जोखिम बढ्दो छ ।

२९ जना कोरोना संक्रमित थपिए
यस्तै कर्णाली प्रदेशमा सोमबार २९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दुई सय दुई जनामा कोरोना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण देखिएको हो ।
महाशाखाले दिएको जानकारीका अनुसार सुर्खेतका १५, सल्यानका पाँच, जुम्लाका चार, दैलेख र हुम्लाका एक÷एक र अन्य प्रदेशका तीन जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार नौँ सय दुई पुगेको छ ।
यस्तै सोमबार २० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन । हुम्लाका १५, सुर्खेतका तीन र कालिकोटका दुुई जना कोरोना संक्रमणमुक्त भएका माहाशाखाका प्रमुख वृष बहादुर शाहीले जानकारी दिए । । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या छ हजार तीन सय तीन पुगेको छ । अब प्रदेशका सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ९९ रहेको छ । प्रदेशमा अहिलेसम्म ९३ हजार दुई सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ । पछिल्लो समय भने कर्णालीमा पिसिआर परीक्षणको दर कम भएको छ । यद्यपी कोरोना जोखिम भने बढ्दो छ ।