शिक्षा | खुला |

विद्यार्थीको कानको जाली फुटाउने शिक्षक पक्राउ, रिहा गर्न विद्यार्थीको माग

लोकेन्द्र जोशी

दार्चुला, पुस १७ गते । दार्चुलामा विद्यार्थीको कानको जाली फुटाएको भन्दै शिक्षक दिनेश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र नमुना मावि खलंगामा कक्षा ८ मा अध्ययनरत नौगाड गाउँपालिका–६ का १५ वर्षीय छात्रको शिक्षकको कुटाइबाट कानको जाली फुटेपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो ।

सोही विषयमा विद्यार्थीका अभिभावकले दिएको जाहेरीका आधारमा निज शिक्षकलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । स्वास्थ्य रिपोर्ट अनुसार विद्यार्थीको कानको जाली फुटेको छ । विद्यार्थीहरुले शिक्षक रिहाइको माग गर्दै सडक आन्दोलन थालेका छन् । उक्त विद्यालयका शिक्षकहरुले कुटपिटबाट नभइ दुर्घटनाबाट विद्यार्थीको कानमा चोट लागेकोले पक्राउ परेका शिक्षकलाई रिहाइ गर्नुपर्ने मागसहित पेनडाउन गरेर विद्यालय समेत बन्द गरेका छन् । स्वास्थ्य रिपाेर्ट विद्यार्थीका अभिभावकले दिएको अंगभंग गरेको सम्बन्धी जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरिएकाले छोड्न नमिल्ने प्रहरीले जनाएको छ ।

बुधबार कानको जाली फुटाएको भनिएका छात्र विद्यालयमा उपस्थित भएर शिक्षक रिहाइको माग गरिरहेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो । केही विद्यार्थीहरु रेलिङ बिनाको छतमा गएर खेलिरहेकाले दुर्घटनाको जोखिम हुनसक्ने भन्दै नजाउ भन्दा नटेरेपछि सामान्य सजाय दिन खोजेको विद्यार्थीहरु बताउछन् । शिक्षकले कुटेको कुरामा मलाई विश्वास नलागेको बताउदै प्रधानाध्यापक जोशीले विद्यार्थीहरुबिच आपसमा झगडा हुने क्रममा चोट लागेको हुन सक्ने बताउनुभयो । शिक्षकको नाममा किटानी जाहेरी परेकोले जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।

विद्यार्थीहरुले शिक्षक रिहाइको माग गरेर सडक आन्दोलन गर्न थालेपछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यार्थीको कानको जाली फुटाएको घटनाको कसुरदार शिक्षक नै ठहरिए पाँच वर्ष जेल र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । साथै अंगभंग भएको खत निको भई काम लाग्ने भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।