शिक्षा | खुला |

विद्यालयमा मातृभाषाको शिक्षा दिनुपर्नेमा जोड

समाचारदाता
इनरुवा, पुस २१ गते । सुनसरीको गढी गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सामुदायिक विद्यालयहरुमा मातृभाषामा पठनपाठन गर्नुपर्नेमा जोड दिएका छन् । भाषा आयोग काठमाण्डौंले जिल्लाको गढी गाउँपालिकामा गरेको बहुभाषिक शिक्षा नमुना विकास तथा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले स्थानीय कला, संस्कृति र भाषा संरक्षणका लागि मातृभाषामा शिक्षा दिनुपर्ने माग गरेका छन् ।

स्थानीय सरकारको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले आफनै भाषामा पठनपाठन गर्दा शिक्षण सिकाइ उपलब्धि राम्रो हुने र अपनत्व महसुस हुने भएकाले मातृभाषाको शिक्षा आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले मातृभाषाको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो ।

चौधरीले मातृभाषाको शिक्षाको लागि गाउँपालिका तयार रहेको समेत प्रतिबद्धता जनाउनुभयो । सोही कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले मातृभाषाको शिक्षा दिन आफूहरु तत्पर रहे पनि नीतिको अभाव र आवश्यक जनशक्ति तथा पाठयपुस्तक समेतको समस्या रहेको बताउनुभयो ।
यादवले आफू गाउँपालिकामा थारु, उराँव, मैथिली लगायतका भाषामा पठनपाठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्षले यादवले मातृ भाषाको शिक्षाले विद्यार्थीलाई बुझ्न र पठन समेत सहज हुने भएकाले आफू स्थानीय सरकार सञ्चालन ऐन, प्रदेश र संघीय कानुनसमेतलाई ध्यानमा राखी भाषा नीति निर्माण गरेर अगाडि बढ्ने बताउनुभयो ।

यादवले काठमाण्डौंबाट भाषा आयोगले गाउँमै आएर दुईदिने मातृभाषाको बारेमा कार्यक्रम गरेकोमा आयोगमा पदाधिकारीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काले गाउँपालिकामा शिक्षामा मातृभाषाको प्रयोग सम्भाब्यताको अध्ययन प्रतिवेदनले समेत मातृभाषाको आवश्यकता औल्याएकाले गाउँपालिकाले आफ्नो स्राेत साधनले भ्याएसम्म प्रयास गर्ने बताउनुभयो ।

कार्यक्रममा भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोरचनले भाषाको बारेमा प्रचार प्रसार र भातृभाषाको अभियान गाउँटोल घरसम्म पु¥याउनका लागि बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई अभिमुखीकरण गरेको बताउनुभयो । त्यस्तै भाषाविद् अमृत योन्जनले समेत मातृभाषाको प्रयोग शिक्षामा हुन जरुरी रहेको बताउनुभयो ।

आयोगका बालबिक्रम राईले समेत बालबालिकाको मातृ भाषामै पठनपाठन गर्दा राम्रो हुने तर्क गर्नुभयो । राईले बालमनोविज्ञान मातृभाषामा पढाउँदा असर पनि नपर्ने र सिकाइ राम्रो हुने बताउनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल उराँव आदिबासी जनजाति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बेचन उराँवले घरदेखी विद्यालयसम्म मातृभाषाको प्रयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले उराँव भाषाको शिक्षामा प्रयोग सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै मातृभाषाको शिक्षाले पढाइमा सकारात्मक असर परेको उल्लेख गर्नुभयो । उहाँले जिल्लाको दुईवटा विद्यालयमा उराँव भाषाको मातृभाषा पठनपाठनले मातृभाषाको आवश्यकता र औचित्य पुष्टि गरेकाले सबै भाषामा शिक्षण सिकाइ हुनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रतिष्ठानका सम्पतलाल उराँव, प्रमेश्वर उराँव, गढीका शिक्षा शाखा प्रमुख छवि खड्का लगायतकाले पनि मातृभाषाको शिक्षाको आवश्यकता र औचित्य बारे बोल्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका ३६ विद्यालय तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको सहभागिता  थियो ।कार्यक्रममा दुईदिने मातृभाषा तथा बहुभाषिक शिक्षक सिकाइका बारेमा प्रशिक्षण दिइएको थियो ।