शिक्षा | खुला |

जीवनाेपयाेगी सीप सिक्दै विद्यार्थी


अमरराज नहर्की
तनहुँ, माघ ३ गते । तनहुँको सदरमुकाम दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीले सालको पातको दुना टपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीप सिकेका छन् । शिक्षाको साथै नेपाली परम्परागत सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले परम्परागत सीप सिकाइरहेको छ ।
विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक रुपले प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीले परम्परागत सिप सिक्न थालेको पाइएको छ । लोपोन्मुख विषयलाई संरक्षण गर्न व्यास नगरपालिका–१ भादगाउँस्थित यस विद्यालयले परम्परागत सीपहरु सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटाहरुमा गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु पर्छन् । कृषिप्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्संदै गएको छ नेपाली समाजले ।
“हामी विद्यार्थीलाई पाठयक्रममा निर्धारित विषयका अलावा हाम्रो ग्रामीण जीवनको मूल आधारका रुपमा रहेको दुनाटपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीप सिकाउँदैछौ, यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि हो”, विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत भन्नुहुन्छ । सम्बन्धित सीप भएका पुराना शिक्षक विद्यालयमा भएकाले उनीहरुले विद्यार्थीलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत यस्तो शिक्षा प्रदान गर्ने गरिएको सहायक प्रधानाध्यापाक वीरबहादुर बस्नेतले जानकारी दिनुभयो । विद्यार्थीहरुले ती सीपहरु रुचीपूर्वक सिकिरहेका छन् । पुराना सिप नयाँ पुस्तालाई सिकाउन र संरक्षण गर्न विद्यार्थी सहयोगी हुने भएकाले यस्तो ज्ञान दिन थालिएको विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल पन्थले बताउनुभयो । सरकारको नमूना विद्यालयको रुपमा निर्मलले इन्टर नेशनल स्कुल अर्वाडमा छनोटमा परेकोले नेपाली मौलिक सीपहरु प्रदान गरिएको विद्यालयले जनाएको छ ।

अवार्ड प्राप्त कार्यक्रम अन्तगर्त विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत सस्कृति संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार ब्रिट्रिस काउन्सिल लाईबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकोले विभिन्न सातवटा आयोजनाको काम भैरहेका छन् । त्यसमा संस्कृतिक हस्तान्तरण अन्तर्गत विद्यालयले सीप प्रदान गरेको हो । प्रयोगात्मक अन्तर्गत विद्यालय वरपर पाइने वनस्पती उन्यू र तिनिहरुको प्रयोगमा विभिन्न किसिमका उन्यूहरु प्रदर्शन भइरहेको छ । देश भनेको भूगोल मात्रै हैन संस्कृति पनि हो, हाम्रो सस्कृति र परम्परालाई हेलाँ गर्न दिनु हुँदैन भन्ने सन्देश प्रदान गर्न पनि विद्यार्थीलाई तालिम प्रदान गरिएको शिक्षक लोकराज सेढाईले बताउनुभयो । सामाजिक विषयको शिक्षक कमलभक्त पोख्रेलले किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित काम गर्न लागिएको गोरखापत्रलाई बताउनुभयो ।
ग्रामीण क्षेत्रबाट आएका न्यून सङख्याका विद्यार्थीले सीप जानेको भएपनि अधिकांशले नजानेको प्रशिक्षक तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सृजना तिवारीले जानकारी दिनुभयो । पुराना कुराहरु सिक्न पाउँदा खुसी लागेको व्यास नगरपालिका–११ घाँसीकुवा, पोल्याङ घर हुनु भएकी कक्षा–९ की छात्रा सुनिता तामाङले जानकारी दिनुभयो । “एकदमै खुुसी छु सिक्न पनि खासै कठिन लागेन”, सुनिताले भन्नुभयो । जाँतो चलाउन, मकै भुट्ने जस्ता काम सहज रुपमा गरेपनि गुन्द्री बुन्नको लागि तान बनाउने, परालको मात्रा कति राख्ने, कसरी हत्यासो ठोक्ने जस्ता ज्ञान लिन भने गा¥हो हुने गरेको शिक्षिका कल्पना परियारले बताउनुभयो । “मैले घरमै सिकेको सीप विद्यार्थीलाई सिकाइरहेको छु उनिहरुले रुची पूर्वक ध्यान दिईरहेकोले सहज भएको छ”, कल्पनाले भन्नुभयो । दुई वर्ष अघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने, भकारी बुन्ने जस्ता सीप पनि भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी भानु नगरपालिका–५ बारीफाँटमा रहेको नारायणी आधारभूत विद्यालयले सालको पातको दुना,टपरी बनाउन सिकाउन थालेको छ । हामीले आफ्ना पुराना रीतिरिवाज भुल्दै गरेको बेलामा यो त यकदमै सकारात्मक र सम्मान योग्य काम स्थानीय डिबी क्षत्री बताउनुहुन्छ । ‘‘जन्मदिनमा केक काट्दैमा,नेपाली ब्याकरण भुलेर ठुटे अंग्रेजी बोल्दैमा आधुनिक भइँदैन क्षत्रीले भन्नुभयो,हाम्रो धर्म र संस्कृति अनुसार हरेक कर्मकाठमा दुना टपरी, परालको गुन्द्री चाहिन्छ विद्यालयमा सिकाईएन भने हराएर नजाला भन्न सकिन्न’’ । यस्ता सीपहरु प्रदान गर्नु प्रशंसनीय काम भएको उहाँ बताउनुहुन्छ । आधुनिक शिक्षा सँगै पुराना संस्कृतिलाई यसरी नै प्राथमिकता दिएर सिकाउनुपर्ने क्षेत्रीको भनाइ छ ।