शिक्षा | प्रदेश |

सर्लाहीमा चिसो बढेपछि विद्यालय बन्द

जनार्जन खत्री
सर्लाही, माघ ४ गते । बढ्दो चिसोले पठनपाठन गराउनै मुस्किल परेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले चार दिनका लागि विद्यालयहरु बन्द गरेको छ ।
एक सातादेखि निरन्तर बाक्लो हुस्सु लागेर कठ्याङग्रिदो चिसो हुँदा पठनपाठन कार्यमा कठिनाइ उत्पन्न भएकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख बासुदेव तिमल्सिनाले बताउनुभयो । नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै माघ ६ गतेदेखि ९ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको जानकारी दिएको हो ।
बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले सोमवार प्रदेशभर सार्वजनिक बिदा नै दिएको छ । चिसो बढेपछि जिल्लाका २० वटा पालिकामध्ये लालबन्दी नगरपालिकाले पहिलो पटक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र ४८ वटा सामुदायिक र दर्ता भएर संचालन भएका संस्थागत विद्यालयहरु २९ वटा रहेका छन् ।
अरु बेला यो समयमा जाडो विदा दिने गरिएपनि यो वर्ष कोरोना भाईरसको सङ्क्रमणले गर्दा लामो समय विद्यालय बन्द गरिएकाले अहिले धमाधम पठनपाठन सञ्चालन गरिरहेका छन् । चिसो बढ्दा विद्यार्थीहरुलाई विद्यालय आउन जान समस्या भइरहेको छ ।
सर्लाहीसहित तराईका जिल्लाहरुमा अघिल्लो हप्ताको आइतवारदेखि निरन्तर बाक्लो हुस्सु लागेर चिसो हावा चलेको छ । चिसोले विद्यार्थीसँगै किसान, मजदुर, अतिविपन्न र पिछडिएको दलित परिवार नराम्ररी प्रभावित भइरहेका छन् । नजिकैको दृश्य समेत नदेखिने गरी बिहानदेखि साँझसम्म बाक्लो हुस्सु लाग्दा बाहिर हिँड्डुल गर्न र सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको छ ।