शिक्षा |

हुम्लाका ७७ वटा विद्यालयमा पठनपाठन सुरु

राजन रावत
हुम्ला माघ १५ गते । लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठनपाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठनपाठन सुरु गरेका हुन् ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को बाल मन्दिर माध्यामिक विद्यालयमा पढाइ सुरु भएकै दिन ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो । कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीको उपस्थिति केही कम भए पनि माथिल्लो कक्षाका विद्यार्थीको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्ककाे प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको उहाँले बताउनुभयो । सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठनपाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।
त्यर्सै गरी जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाका ३२ वटा बिद्यालयमा पठन पाठन एक साथ सुरु भएको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताउनुभयो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला पठनपाठन सुरु भएको हुँदा विधार्थीको उपस्थिति सन्तोषजनक रहेको उहाँले बताउनुभयो । त्यसै गरी ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पठनपाठन सुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । विद्यार्थी र शिक्षकले कोरोना संक्रमण बिरुद्धका सामाग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो । फागुन २ गतेबाट हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनुपर्नेमा कोरोनाको कारण भरखर पढाई सुरु भएकोले पठनपाठनलाई तीब्रता दिने विद्यालयले जनाएका छन् । शुक्रवार समेत पूरा दिन पढाइ सञ्चालन गर्ने विद्यालयले जनाएका छन् । पठनपाठन सुरु भएका अधिकांस विद्यालयका शिक्षकहरु विद्यालयमा पुगि सकेको र केही नआएको भए पनि सम्पर्कमा आइसकेको जनाइएको छ । यस अघि पुस १५ गतेबाट अदानचुली गाँउपालिकाका विद्यालयमा पठनपाठन सुरु भइरहेको छ भने अब तीन वटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठनपाठन सुरु गर्ने तयारी भई रहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलो पटक पुस माघ महिनामा पठनपाठन सुरु भएको हो ।