शिक्षा |

शिक्षकको गुणस्तर परिवर्तन जरुरी


गोरखापत्र समाचारदाता

काठमाडाँै, माघ २६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सेवा आयोगहरूमा एकरूपता ल्याउनुपर्ने बताउनुभएको छ ।
शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा आइतबार आयोग परिसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सबै आयोगमा एकरूपता ल्याएर तोकिएको जिम्मेवारीमा सक्षम बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मूल दायित्व बोकेको आयोगमा सक्षम कर्मचारी आवश्यक भएकाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले परम्परागत शिक्षा नीति नै अस्थिरता, अराजकता, अन्योल र भ्रमको बादल भएको आफूले पाएको बताउनुभयो । उहाँले आयोगलाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने, आफ्नो भवन निर्माण गरिनुपर्ने र आयोगलाई थप प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षण पेसालाई जीवनको पहिलो रोजाइ बनाउनुपर्नेमा जोड दिन्ुभयो । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्नुहुँदै उहाँले कक्षामा दिने प्रस्तुति महŒवपूर्ण हु्ने औँल्याउनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायका रूपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउँदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताउनुभयो ।
शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्नुहुँदै आयोगलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आयोगलाई स्वतन्त्र र स्वायत्त निकायका रूपमा लैजानुपर्ने बताउनुभयो ।
आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले आयोगको विगत, वर्तमान र भावी योजना एवं चुनौतीबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।