शिक्षा |

छात्राहरु बेहोसः ‘छाउ’हुँदा विद्यालय आएको भन्दै पूजा गर्ने तयारी

गोकर्ण दयाल

बैतडी, फागुन ११ गते । पढ्न गएका छात्राहरु दिनदिनै बेहोस हुन थालेपछि ‘छाउ’(महिनावारी) भएको बेला विद्यालय जाने गरेको भन्दै अभिभावक र शिक्षकले क्षमा पूजा गर्ने तयारी गरेका छन् । बैतडीको दशरथ चन्द नगरपालिका–१०, रातामाटा स्थित दानेश्वर नागार्जुन माविका छात्राहरु एकपछि अर्को गर्दै दैनिक रुपमा विद्यायमै बेहोस् हुन थालेको विद्यायले जानकारी दिएको छ ।

छात्राहरु बेहास हुन थाले पछि फागुन १२ गतेदेखि सञ्चालन हुने परीक्षा १६ गते सम्मका लागि सारिएको विद्यलायका प्रधानाध्यापक गोपाल जोशीले बताउनुभयो ।

प्रधानाध्यापक जोशीले भन्नुभयो, ‘ दुई चार दिन पहिले तीन जना छात्रा बेहोस भएर काँप्न थाले । फागुन ९ गतेका दिन त ११ जना छात्राहरु एकै चोटी कामे । त्यसपछि लगातार सबै छात्रा काम्न थालेका छन् । यसले गर्दा विद्यालयको पढाई नै प्रभावित बनेको छ । १२ गतेबाट सुरु गर्ने भनिएको परीक्षा १६ का लागि सारेका छौं ।’

स्थानीय अभिभावकले दानेश्वर नागार्जुन मन्दिरका नामबाट स्थापना भएको विद्यालयमा महिनावारी भएका छात्राहरु आउने गरेकोले क्षमा पूजा गर्न आग्रह गरेको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

जोशीले भन्नुभयो, ‘ केही अभिभावकले छाउ हुँदा विद्यालय जाने गरेकोले यस्तो भएको भन्दै छन् । स्थानीयवासीले दानेश्वर नागार्जुन देवता प्रति अगाध विश्वास गर्ने गरेका छन् । अभिभावकको मन शान्तिका लागि भए पनि पूजारी बोलाएर क्षमा पूजा गरि दिने भनेको छु ।’

यद्यपि, देउताकै कारण छात्राहरु बेहोस भएका हुन् भन्ने कुनै ग्यारेन्टी नभएकोले चिकित्सक बोलाएर मनोपरामर्श सञ्चालन गर्नु पर्ने प्रधानाध्यापक जोशीले बताउनु भयो । विद्यालयमा चिकित्सकको टोली पठाई दिन नगरपालिकासँग आग्रह गरिएको उहाँले बताउनुभयो ।

छात्राहरु बेहोस हुन थालेको विषयमा जानकारी प्राप्त भएको बताउँदै जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले बुधबार सम्म चिकित्सकको टोली खटाईने बताउनुभयो । डाक्टर जोशीकाअनुसार किशोर अवस्थामा हुने ‘मास कन्सटेशन डिसअर्डर’ का कारण यस्तो समस्या आएको बताउनुभयो ।

डाक्टर जोशीले भन्नुभयो, ‘किशोर अवस्थामा हुने शारीरिक विकाससँगै मनमा अनेक कुरा आउँछन् । पूरा हुनन् सक्ने कतिपय कुरा मनमै दबाएर राख्दा चेतन मश्तिष्कले त्यो कुरालाई शारीरिक लक्षणका रुपमा व्यक्त गदिन्छ । यस्तो बेलामा मनोपरामर्श नै उपचारको विधि हो । ’

विद्यालयका छात्राहरु बेहोस भएको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले यसअघि यस्तै प्रकारको समस्या पञ्चेश्वर गाउँपालिकाको जेबलकट्ट, दशरथचन्द नगरपालिकाको गुरुखोला र सिगास गाउँपालिकाको चौखाममा पनि देखिएको बताउनुभयो । 

समन्वय इकाइ प्रमुख अवस्थीले मनोपरामर्श गरेपछि यो समस्या समाधान हुने भएकोले महिनावारीका कारणले यस्तो भएको भनेर अभिभावकले भ्रमपाले आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

 

 

 

 

 

 


तस्बिरः भागरथी भट्ट ।