शिक्षा | खुला |

विद्यालयमा नियमित पठनपाठन गराउँदै तुर्माखाँद गाउँपालिका


शिवराज ढुंगाना
मंगलसेन, चैत १८ गते । वायु प्रदूषणले असर नगरेको भन्दै अछामको तुर्माखाँद गाउँपालिकाले विद्यालय बन्द नगरेर पठनपाठनलाई निरन्तता दिने भएको छ । स्थानीय सरोकारवालाको छलफलबाट प्रदूषणका कारण बालबालिकामा त्यस्तो जटिल परिस्थिति नभएकोले पठनपाठनलाई निरन्तरता दिनका लागि गाउँपालिकाले सूचना जारी गरेको छ । वायु प्रदूषणको जटिलता नरहेको र लामो समयमको बन्दाबन्दीले शिक्षाक्षेत्र मारमा परेकोले विद्यालयमा पठनपाठन निरन्तर गर्न गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखका अधिकृत टेकबहादुर साउदद्धारा जारी सूचनामा उल्लेख छ ।
शिक्षक र विद्यार्थीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयको पठनपाठनलाई निरन्तरता दिन भनिएको छ । सूचनामा वातावरिणय प्रतिकूलता देखिन गएमा विद्यालय बन्द गरिने बताइएको छ । वायु प्रदूषणले गम्भीर असर गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयको सूचना अनुसार शुक्रबारसम्म विद्यालय बन्द गरेर आइतबार मात्र पठनपाठन शुरु गर्नुपर्ने थियो ।