शिक्षा |

आजदेखि पठनपाठन नियमित


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २२ गते । देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताउनुभयो । उहाँले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिनुभयो ।
यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।
सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो । मङ्गलबारदेखि प्रदूषण विस्तारै कम हुनुका साथै बुधबार देशभर हल्का पानीसमेत परेको थियो । त्यसपछि मौसममा सुधार आएको जनाइएको छ । यसका साथै डडेलो पनि कम हुँदै आएको जनाइएको छ ।