शिक्षा |

इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल 

   
काठमाडौँ, असार २२ गते । इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्रा. डा. ओरी ओरफसँगको सहकार्यमा एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले ‘निर्णय निर्माण प्रक्रियामा संज्ञानात्मक पक्ष’ विषयक अन्तर सञ्जाल सम्मेलन आयोजना गरेको छ ।    
    
नेपालका लागि इजरायली राजदूत हनान गोडरले ‘अन्दाजी र पूर्वाग्रह’ विषयक सम्मेलन विभिन्न अनिश्चित घटनाबाट सुरक्षित रहन तथा प्रत्येक व्यक्तिका दैनिक अभ्यासमा आधारित त्रुटिहरूको समाधानमा उपयोगी भएको बताउनुभयो ।    
    
इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले यस किसिमका सूचनामूलक कार्यक्रमले विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाई समेत लाभान्वित गराउने बताउनुभयो । नेपालमा कृषि केन्द्र स्थापनालगायतका विभिन्न विषयमा इजरायल र नेपालले सफलतापूर्वक सम्झौता–पत्रमा हस्ताक्षर हुँदा गौरवबोध भएको जनाउनुभयो ।    
प्रा. डा. ओरीले संज्ञानात्मक पूर्वाग्रहमाथि विजय हासिल गर्ने पहिलो कदम नै आफूसँग त्यो कुरा भएको स्वीकार गर्नु हो भन्ने कुरामा जोड दिनुभयो । डा. ओरीका अनुसार कहिलेकाहीँ अति अत्याधुनिक र परिष्कृत चिन्तक पनि आफ्नै संज्ञानात्मक पूर्वाग्रहको सिकार हुने भएकाले प्रत्येक व्यक्ति यस विषयमा सावधान हुनुपर्ने बताउनुभयो ।    
    
 प्रा. डा. ओरीले डेनियल कान्हेमान र एमोस नाथन टिभर्सकीलगायतका विज्ञहरूको निर्णय निर्माण प्रक्रियामा मानव व्यवहारको विरोधाभास र विवादास्पदता झल्काइएको भिडियो सामग्री पनि प्रस्तुत गर्नुभएको थियो । डानियल कान्हेमान अर्थ–विज्ञानमा नोबेल मेमोरियल पुरस्कारबाट सन् २००२ मा विभूषित भएका थिए ।    
    
एड्भान्स्ड कलेज अफ इञ्जिनीयरिङका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले नेपाल र इजरायलबीच प्रगाढ हुँदै गइरहेको मित्रताप्रति प्रसन्नता व्यक्त गर्दै प्रा. डा. ओरीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो । कलेजका प्रिन्सिपल इञ्जिनीयर लोचनलाल अमात्यले ओरीद्वारा प्रस्तुत सत्रको प्रशंसनीय टिप्पणी गर्दै इञ्जिनीयरिङ क्षेत्रमा संज्ञानात्मक पूर्वाग्रहका बारेमा आफ्ना सिकाइसम्बन्धी अनुभव आदानप्रदानलाई निरन्तरता दिइने बताउनुभयो ।