शिक्षा |

कोशीमा पहिलो पटक कक्षा ११ को पढाई सुरु


जयकुष्ण यादव
इनरुवा, साउन २० गते । सुनसरीको १२ पालिका मध्ये कक्षा १२ सम्मको पढाई नहुने कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई सुरु भएको छ ।

स्थानीय तहमा परिणत भएको साविकको चार गाविस हरिपुर, श्रीपुर, परिश्चम कुशाहा र लौकही मध्ये कुनै पनि गाविसमा उच्च मावि नरहेको र स्थानीय तहको निर्वाचनको चार वर्षपछि स्थानीयको माग र विधार्थीको आवश्यकतालाई मध्यनजर गरि यो शैक्षिक सत्रबाट कक्षा ११ को पठनपाठन सुरु गरेको हो ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीका अनुसार साविकको गाविस उच्च मावि विहिन रहेको र परिवर्तित कोशी गापाको ८ वटा वडामा ५ मावि भएपनि कक्षा १२ सम्म पढाई नभएको कुरालाई मध्यनजर गरी यो शैक्षिक सत्रबाट शोभनपुर माविमा कक्षा ११ को पढाई सुरु गरेको हो । कोशी गाउँपालिका ७, ६, ३, २ र १ नम्बर वडामा कक्षा १० सम्म मावि कक्षा संचालन भए पनि अझै ८, ४ र ५ नम्बर वडामा मावि छैन ।

यो पालिकामा पहिलो पटक कक्षा ११ को संचालन अनुमति दिएको र १२ सम्म पढाई हुने गरी कक्षा ११ को पढाई सुरु गरेको अध्यक्ष अंसारीले जानकारी दिनुभयो ।