शिक्षा | खुला |

काभ्रेपलाञ्चाेकका विद्यालय पुनःनिर्माणमा साढे सात अर्ब रुपियाँ खर्च


मधुसुधन तिमल्सिना
काभ्रे, भदौ ११ गते । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणमा साढे सात अर्ब खर्च भएको छ । नेपाल सरकार, एशियाली विकास बैङकको ऋण सहयोग, भारत सरकार, शिक्षा विकास समन्वय इकाई र विभिन्न एनजिओ आइएनजिओमार्फत् सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च भएको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले आर्थिक बर्ष २०७३÷०७४ बाट विद्यालय पुनःनिर्माण सुरु गरेको थियो । विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी र संघ संस्थामार्फत्् विद्यालय भवनको निर्माण गरेको कार्यालयले जनाएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख देवकुमार बरालले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)मार्फत् एक अर्ब ३५ करोड १३ लाख, शिक्षा विकास समन्वय इकाई मार्फत् १७ करोड ५० लाख ८० हजार, एशियाली विकास बैङक (एडिबी)को ऋण सहयोगमा नेपाल सरकारले आपत्तकालीन परियोजनामार्फत् निर्माण गरेको २८ विद्यालयका लागि दुई अर्ब ७० करोड ४८ लाख ९३ हजार खर्च भएको जानकारी दिनुभयो । त्यस्तै सरकारको विपद् व्यवस्थापन परियोजना अन्र्तगत एडिबी कै ऋण सहयोग (तीन चरण) मा एक अर्ब ५१ करोड ३२ लाख ८८ हजार, भारत सरकारमार्फत् ६० करोड ७० लाख ९९ हजार, गैरसरकारी संस्था मार्फत् एक अर्ब २३ करोड ६४ लाख ८३ हजार र विपद् व्यवस्थापन परियोजनामार्फत् विद्यालय प्रवलीकरणमा सात करोड ३७ लाख ७५ हजार रुपियाँ खर्च भएको छ ।
३५१ विद्यालय निर्माण सम्पन्न
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले काभ्रेमा ३५१ विद्यालयका ४४९ भवन पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समिति मार्फत् १८८ विद्यालयका २२९ भवन सम्पन्न भएका छन । अझै २४ विद्यालयका ४१ भवन निर्माणधीन रहेका छन । एशियाली विकास बैङक (एडिबी)को ऋण सहयोगमा नेपाल सरकारले आपत्तकालीन परियोजना मार्फत् निर्माण गरेका २८ विद्यालयका ८२ भवन सम्पन्न भएर हस्तान्तरण भएको इकाईले जनाएको छ । त्यस्तै, सरकारको विपद् व्यवस्थापन परियोजना अन्र्तगत एडिबीकै ऋण सहयोगमा पहिलो चरणमा निर्माण भएका १० विद्यालयका १३ भवन निर्माण सम्पन्न भएका छन । त्यस्तै दोस्रो चरणका नौ विद्यालयका १३ भवन निर्माणको अन्तिम चरणमा रहेका छन । सोही परियोजनाको तेस्रो चरणका तीन विद्यालयका सात भवन टेण्डर भइसकेको छ ।
भारत सरकारमार्फत् निर्माण सुरु भएका १२ विद्यालयका १८ भवन निर्माण भइरहेका छन् । दुई विद्यालय बाहेक अन्य १० वटा निर्माणको अन्तिम चरणमा पुगेको इकाइले जनाएको छ । काभ्रेका एनजिओ, आइएनजिओ मार्फत् ९७ विद्यालयका ९८ भवन बन्नु पर्नेमा ९२ विद्यालय भवन निर्माण सम्पन्न भएका छन भने छ वटा शुरु हुन बाँकी रहेका छन् । शिक्षा विकास समन्वय इकाईमार्फत् ५९ विद्यालय भवन मध्ये ३३ सम्पन्न भएका छन भने २६ निर्माणाधीन रहेको इकाईले जनाएको छ ।