बर्दियाका चार पालिकामा ‘बालिका शिक्षाकालागि एक रुपियाँ अभियान’
सिराज खान
नेपालगञ्ज, भदौ २५ गते । अति विपन्न र गरिब परिवारका बालिकाको पढाई खर्चमा सहयोग गर्ने उद्देश्यले बर्दियाका चार वटा पालिकामा ‘बालिका शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरिएको छ ।
बर्दिया जिल्लाको गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका परिवर्तनका संवाहक युवाले सो अभियान सुरु गरेका हुन् ।
ग्रामीण क्षेत्रका अधिकांश बालिकाहरुलाई पठनपाठनका लागि स्टेसनरी, पोसाक लगायतको समस्याका कारण उनीहरूको पढाई अवरुद्ध हुन थालेको पाइएपछि उनीहरूलाई सहयोग गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको अभियानमा संलग्न युवाले बताएका छन् ।
गाउँघरमा धेरै विपन्नले आफ्ना छोरीका लागि कलम, कपी र अन्य स्टेसनरी समेत खरिद गर्न नसक्दा विद्यालय पठाउन छाडेको पाईएपनि आफूहरूले ‘छोरी शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरेर रकम संकलन सुरु गरेको बाँसगढीका परिवर्तनका संवाहक युवा सन्दीप पौडेलले बताउनुभयो ।
उहाँले सो अभियानमा सबैले सहयोग गरिरहेको जनाउँदै संकलन भएको रकमलाई विपन्नका छोरीहरुको शिक्षामा खर्च गरिने बताउनुभयो ।
सोही प्रकारको अभियान गुलरिया र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा पनि सुरु गरिएको पौडेलले बताउनुभयो ।
‘बालिका शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गर्नु निकै सकारात्मक काम भएको जनाउँदै गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीले यो अभियानले धेरै विपन्नका छोरीहरुको पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो ।
उक्त अभियान सञ्चालन गर्नु अघि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबले चारवटै पालिकाका १७ जना परिवर्तनका संवाहक युवालाई नेतृत्व विकास तथा अभियान सञ्चालन सम्बन्धी दुई दिने तालिम दिएको थियो ।
सो तालिमबाट उत्साहित भएर ती युवाले मात्रै आ आफ्नो तर्फबाट सो अभियानमा ३ हजार ५०० रुपियाँ संकलन गरेर अभियानको सुरुवात गरेको तालिमका सहजकर्ता निरज न्यौपानेले बताउनुभयो ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियाका ती चार पालिकामा ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम’ परियोजना सञ्चालन गरिरहेको छ ।