शिक्षा | प्रदेश |

भौतिक रुपमा पढाई भएपछि विद्यार्थी उत्साहित

सन्तोष राउत

सोलुखुम्बु, भदौ २१ गते । सोलुखुम्बुका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएपछि विद्यार्थीहरू उत्साहित बनेका छन् । लामो समयदेखि घरमा बस्नुपर्दा तनाव भएको भन्दै सदरमुकामको जनजागृति माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्र प्रज्वल मगरले विद्यालय सञ्चालनमा आएपछि ढुक्क भएको बताउनुभयो ।
विद्यालयबाट अनलाइन कक्षा समेत नभएकाले घरमा काम गरेर वा खेलेर बस्नुपर्दा एसइईको चिन्ताले सताउने गरेको थियो, अब भने केही आशा पलाएको छ, उहाँले भन्नुभयो । 
त्यस्तै, नेचासल्यान गाउँपालिकाको महेन्द्रोदय माध्यमिक विद्यालयका छात्रा नबिना राउतले पनि विद्यालयमा गएर पढ्न पाउँदा खुसी भएको बताउनुभयो । लामो समयदेखि विद्यालय बन्द हुँदा पढ्न नपाएर बसेका उहाँहरू जस्ता जिल्लाभरिका  विद्यार्थीहरू अहिले फुरुङ्ग भएर विद्यालय जान थालेका छन् ।
। नगरपालिका तथा धेरैजसो गाउँपालिकाहरुले भदौ २० गतेबाट विद्यालयहरुमा तालिका बनाएर फरक दिन फरक कक्षालाई पढाउन थालेको भए पनि २७ गतेदेखि नियमितरुपमा सबै कक्षाको पठनपाठन थालिएको छ ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ, सोताङ, माप्यदूधकोशी, खुम्बुपासाङल्हमू गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकामा विद्यार्थीको भौतिक उपस्थितिमा पूर्णरुपमा विद्यालय सञ्चालन भएको हो ।
डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याएको जन जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद राईले बताउनुभयो । विद्यालय वरपर र शौचालयको सरसफाई, शुद्ध खानेपानीको व्यवस्थापन, अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय, शिक्षकहरु विद्यालय पुगेर शैक्षिक सामग्रीहरूको आवश्यक तयारी गरेर पठनपाठन थालेको विद्यालयहरुले जनाएका छन् ।
दुर्गम हिमाली जिल्ला भएकाले सोलुखुम्बुमा निषेधाज्ञा अवधिभर कुनै अनलाइन कक्षा सञ्चालन भएन । केही गैरसरकारी संस्थाले आधारभूत तहका लागि रेडियो कक्षा सञ्चालनमा ल्याएका थिए ।