शिक्षा |

कोभिडका बेला वैकल्पिक विधि अपनाउँदा  गाउँमा पठनपाठन सहज बन्याे 

उपेश महर्जन
जनकपुरधाम, असोज १७ गते । कोभिड सङ्क्रमणले विद्यालयस्तरको पढाइ शुन्य भएका बेला धनुषा जिल्लाका चारपालिकामा भने विद्यार्थीका पठनपाठनमा खासै असर परेन ।
कोरोना भाइरस (कोभिड –१९)को महामारीको पहिलो र दोस्राे लहरमा बालबालिकाको सिकाइको निरन्तरता, मनोसामाजिक असर तथा प्रभाव कम गर्न शिक्षण सिकाइका विभिन्न विकल्पको प्रयोग गरियाे ।
एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँचजनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नउत्तर सोध्ने (हाजिरीजवाफ) गर्ने अभियान सञ्चालित भएका थिए ।
आमा समूह, छात्रा सञ्चाल, बाल क्लबहरु गठन गरेर सामाजिक र आर्थिक रुपमा पछि परेर विद्यालय जान नपाएका वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर रुपमा अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन् ।
यसरी निरन्तर रुपमा क्रियाकलापहरु भएपछि करिब ८० प्रतिशत विद्यार्थीहरु नियमित रुपमा विद्यालयमा पुगेको र तीस प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षित क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ
यो सबै सफलताको पछाडि ‘निक शिक्षा दिअ’ अभियानले राम्रो प्रभाव पारेको परियोजनाका टिम लिडर दिलिप यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । लक्ष्मनिया गाउँपालिका सहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा परियोजना सञ्चालित छन् ।
शिक्षा र बालश्रमको क्षेत्रमा क्रियाशील करिब सम्पूर्ण बालबालिकालाई विद्यालयमा अध्ययन गराउन र वालश्रम मुक्त गर्नको लागि असमान नेपालले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
गणेशमान चारनाथ नगरपालिकाका वडा नम्बर २ का वडा सदस्य विहारी धामीले कोभिडको बेलामा पनि निरन्तर रुपमा टोल टोलमा पुगेर शैक्षिक गतिविधि हुँदा मनोवैज्ञानिक रुपमा दलित र विपन्नवर्गका विद्यार्थीका अध्ययनशीलता बढेको बताउनुभयो ।
यस्तै, लक्ष्मनियाँ गाउँपालिकाको नगडियास्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार लाल कर्ण यस अभियानका अनुसार शिक्षक, अभिभावक र विद्यार्थीहरुमा पढ्ने र पढाउनुपर्छ भने जागरण बढेको बताउनुहुन्छ ।
उहाँका अनुसार विद्यालय र संस्थाका समन्वयका कारण ८५ जना विद्यार्थी भएको निम्न माध्यामिक विद्यालयलाई माध्यामिक विद्यालय बनाउँदै चारसय विद्यार्थी पु¥याउन सफल भएको छ ।
विद्यालयको सरसफाइ, खानेपानी र चर्पि निर्माणमा सहयोग भएका कारणले पनि छात्रासहित छात्रलाई अध्ययन गराउन सहज भएको उहाँले बताउनुभयो ।
सामाजिक परिचारिका पुनम यादव यस अभियानका कारणले विद्यार्थी, शिक्षक र अभिभावकमा पढाउनुपर्छ भन्ने धारणा बढेको बताउनुहुन्छ ।
गुणस्तर शिक्षा, थप शैक्षिक क्रियाकलाप र वैकल्पिक शिकाइ कारण विद्यार्थीहरुले लकडाउनको समयमा पनि शैक्षिक गतिविधिमा भाग लिएको स्मरण गर्नुभयो ।
यस्तै, अर्का सामाजिक परिचारिका अर्चना ठाकुरले निमुखा तथा दलित बस्तीहरुमा पनि शिक्षाविना जीवन अँध्यारो रहने भएकाले शिक्षा लिनुपर्छ भनेर जागरण आएको बताउनुभयो ।
गणेशमान चारनाथ नगरपालिकाको गौरी छात्रा सञ्जालकी सचिव अर्मिसा कुमारी अधिकारीे विगतमा विद्यालयमा नजाने मस्लिम समुदायका बालबालिकाहरु पढ्नुपर्छ भनेर विद्यालयमा जान थालेको कुरा बताउनुहुन्छ । उहाँले ९९ प्रतिशत सो क्षेत्रमा बालश्रम मुक्त भएको दाबी गर्नुभयो ।
होटलमा बालश्रममा लाग्नुभएका लक्ष्मनिया गाउँपालिका वडा नम्बर ५ का नावालक शंकर धंकारले यस संस्थाले उद्धर गरेर अध्ययन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।