बालबालिकाका लागि वरदान बन्दै बालविकास केन्द्र
राजेन्द्र ठगुन्ना
अमरगढी, असोज २१ गते । ‘लहलह धानको बाला झुल्यो, सरसर चिसो बतास चल्यो, सुनको खेतमा चरी लुक्यो, शरदको घाममा बाला झुल्यो, दशैँ चाड आइसक्यो, दशैँ चाड आइसक्यो, मादल डम्फुले गाउँ घन्क्यो मादल डम्फुले गाउँ घन्क्यो...।
रातो कार्पेटमाथि बसेर सुमधुर स्वरमाथि मादलको ताल छपक्कै छोपेर उग्रतारा मावि पोखराकी शिक्षिका यसोदा ताम्राकारले बालगीतलाई मिठास दिइरहनुभएको थियो । बालबालिका भने गीतको लय नबुझे पनि मादलको सुर नबुझे पनि कसैले ताली पिटिरहेका थिए, कसैले ओठ चलाइरहेका थिए । कोही भकुण्डोसँग त कोही घोडामाथि बसेर रमाइलो गर्दैथिए ।
उग्रतारा माध्यामिक विद्यालय पोखरामा रहेको बालविकासमा छातीमा रुमाल झुण्ड्याएका बालबालिकामध्ये केहीले कुर्सीमा बसेर अक्षर नचिने पनि किताबका पाना पल्टाउँदै थिए, केही म्याग्नेटिभ बोर्डमा बाङ्गाटिङ्गा कखराका अक्षर कोर्ने प्रयासमा देखिन्थे । सबैको आ–आफ्नै सुर, आफ्नै ताल । सबै खुसीले रमाइरहेका देखिन्थे ।
चार पाँच वर्ष पहिलेसम्म बालविकासमा बालबालिकाको संख्या न्यून हुने र भर्ना गराउनकै लागि महिना दिन गाउँटोल गएर अभिभावकसित हात जोड्दै बच्चा ल्याउनू भन्नुपर्ने स्थिति रहेको बाल विकासकी शिक्षिका यसोदाले स्मरण गर्नुभयो । धौधौ बालविकासमा आउने बच्चाको सरसफाइप्रति अभिभावकले कुनै चासो दिएको देखिँदैनथ्यो । बच्चाहरुका कपाल फोहोरले लठ्ठीएका हुन्थे । नाकमा सिगानका धाराले मुख पुरै फोहोर हुन्थ्यो । तर बालविकासमा आएपछि बालबालिकाको जीवन फेरिएको छ ।
सुरुसुरुमा बालविकास कक्षामा खेलौना नहुँदा मकैको सिजनमा मकैको बोट र मकै ल्याएर चिन्न लगाउने ‘म’ बाट मकै भनेर सिकाउने गरिन्थ्यो यसोदाले भन्नुभयो । स्थानीय जातका फलफुल तथा खानेकुराका माध्यमबाट बच्चालाई सिकाउने गरेको बालविकासका अर्का शिक्षिका निर्मला भट्टराईले बताउनुभयो । ३ देखि ५ वर्षमुनिका ३८ बालबालिका उग्रतारा माविको बालविकासमा अध्ययनरत छन् ।
शिक्षिका यसौदाले भन्नुभयो, “२०६० सालदेखि बालविकासका बालबालिकालाई सिकाउँदै, नाच्दै, गाउँदै आएको भएर पनि होला विद्यालय बन्द भएका समय असहज महसुस हुन्छ ।” दैनिक चार घण्टासम्म भिन्न समुदाय, भिन्न जातजाति र भिन्न उमेर समुहका बालबालिकाको हेरचाह गर्दै आइएको उहाँले बताउनुभयो । बालविकास कक्षामा तीन जना शिक्षिका रहनुभएको छ । उहाँहरुले बालबालिकालाई बोल्न सिकाउने, सरसफाइ गर्न सिकाउने, अक्षर चिनाउनुका साथै मनोरञ्जन गराउन सिकाउनु हुन्छ ।
सुरुसुरुमा बालविकासमा पठाउँदा आउनै नमान्ने अमरगढी नगरपालिका ७ पोखराका तीन वर्षीय योगेश भट्टराई आजभोलि बिहान उठ्नासाथ स्कुल जाने भन्दै झोला पिठ्युमा बोकेर बस्नेगरेको आमा सुनिता भट्टराईले बताउनुभयो । “बालविकास पठाउनुभन्दा पहिले कपी किताबको वास्तै गर्दैन थियो, टिभी हेर्न खोज्थ्यो, आजभोलि विद्यालय भनेपछि फुरुङ्ग हुन्छ” भट्टराईले सुनाउनुभयो ।
अमरगढी ७ पोखराकी तारा कैनीले पनि छोरी बाल विकासमा जान थालेपछिको परिवर्तन देखेर खुसी हुनुहुन्छ । “मेरी छोरी अहिले कक्षा २ मा पढ्दै छिन्, ४ वर्षीय छोरा रिदमलाई यही बाल विकासमा पठाउने गरेको छुँ” उहाँले भन्नुभयो, “घर बस्दा पनि मम्मी कापी किताव दिनु, पढ्छु भन्दै माग्छे, विद्यालय जानुभन्दा पहिले मुख धुन लगाउँछे र छातीमा रुमाल झुण्ड्याउन लाउँछे ।”
दुई चार दिन बालविकासमा बानी पार्न साह्रै समस्या भएपनि पछि घरमाभन्दा बाल विकासमा जान खुसी हुने गरेको सारती भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “चार वर्ष भयो छोरा विद्यालय जान भनेपछि निकै खुसी हुन्छ ।”
बालबालिकामा तीन सय १४ बालिका र चार सय ४२ बालक गरी ७ सय ५६ जना बाल विकासमा आउनेगरेको अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताउनुभयो । उहाँकाअनुसार सामुदायिक विद्यालयमा रहेका बाल विकास केन्द्रमा मात्रै दुई सय ५४ बालक र एक सय ८६ बालिका भर्ना भएका छन् । स्थानीय सरकार गठन हुनुभन्दा पहिले अमरगढीमा ३२ वटा बालविकास केन्द्रहरु रहेका थिए । बालबालिकाको सिकाइ प्रभावकारी बनाउन मर्ज गरेर २६ वटा बालविकास केन्द्रहरु निर्माण गरिएको छ ।
संघीय सरकारले वार्षिक रुपमा प्रतिबालबालिका पाँचसय रुपियाँ बालविकास केन्द्रका बालबालिकाका लागि आवश्यक खेल सामग्री तथा अन्य व्यवस्थापनका लागि छुट्याउँदै आएको छ ।
अमरगढी नगरपालिकाले बालविकाको आश्यकताअनुसार खेल सामग्री उपलब्ध गराउने गरेको बताएको छ । गत आर्थिक वर्षमा बालविकास प्रोत्साहनका लागि चार लाख रुपिँया विनियोजन गरेको अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो “विद्यालयबाहिर रहेका बालविकासलाई पनि विद्यालयमा मर्ज गरेर सिकाई अनुभवलाई थप प्रभावकारी बनाएका छौँ ।”