पढाइप्रति बालबालिकाको रुचिमा कमी
पाल्पा, कात्तिक ८ गते । कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भई अध्ययन गर्नमा रुचीमा भने कमी भएको पाइएको छ ।
न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताउनुभयो । कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्रिन्सिपल पन्तको भनाइ छ ।
विद्यार्थी नियमित रुपमा विद्यालयमा उपस्थिति भए पनि अध्ययनमा पूर्ण रुपमा सक्रियता देखाउन सकेको स्थिति छैन । गृहकार्य गर्न समेत पहिलाको तुलनामा कमी देखिएको छ । पाल्पाका स्थानीय तहले भदौको अन्तिम, असोज महिनाको पहिलो साताबाट विद्यालय नियमित रुपमा सञ्चालनमा ल्याएका छन् । लामो समय विद्यालय बन्द हुँदा निरुत्साहित विद्यार्थी शिक्षकको उपस्थितिमा अध्ययन गर्न पाउँदा चहलपहल बढेको छ ।
विद्यालय परिसरमा सहकर्मीसँग दैनिक भेटघाट र अभ्यास, खेलकूदका गतिविधिमा नियमित सहभागिता हुन पाउँदा खुसी लागेको न्यू होराइजन स्कुल पाल्पामा कक्षा १० मा अध्ययनरत रञ्जन भण्डारीले बताउनुभयो ।
पाल्पाका विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएसँगै विद्यालयमा शिक्षक, विद्यार्थीको चहलपहल देखिएको छ । कोरोना सङ्क्रमणको जोखिमले सुनसान विद्यालय धमाधम खुलेपछि शिक्षक विद्यार्थीको उपस्थितिले चहलपहल ल्याएको हो ।
राम आधारभूत विद्यालय, बगनासकालीका प्राधानाध्यापक गुनबहादुर गाहाले जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका शिक्षकले स्वास्थ्य मापदण्डको पालना गराउन चासो देखाउनुपर्ने बताउनुभयो । तर अधिकांश विद्यालयमा खासै चासो नदेखाउदा विद्यार्थीमा कुनै उत्साह देखिएको छैन ।
पाल्पाका निजी तथा सरकारी विद्यालयका विद्यार्थीले मुखमा मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई अनिवार्य गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।