शिक्षा | समाज |

पढ्न र खेल्न बिर्सिएपछि कखरा सिक्दै बालबालिका


राजन रावत
हुम्ला, कात्तिक १३ गते । कक्षा ३ सम्मका विद्यार्थीले कखरा सिक्न सुरु गरेका छन् । कोरोनाको कारण लामो समय पठनपाठन बन्द रहेपछि अध्ययन गर्न बिर्सेका साना विद्यार्थी अहिले सिक्न थालेका हुन् ।
बालमन्दिर माविमा कक्षा २ मा अध्ययनरत छात्र विपिन रावतले पढ्न र लेख्न बिर्सिएको बताउनुभयो । सबै अक्षर बिर्सिएको कारण अहिले पुनः पढ्न र लेख्न थाल्नुभएको छ । त्यसो त कक्षा दुई मै अध्ययनरत छात्रा एलिसा कामीको अवस्था पनि उस्तै छ । कक्षा १ र २ मा पनि उस्तै अवस्था छ ।
हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा कक्षा २ की कक्षा शिक्षिका कल्पना रावतले धेरै विद्यार्थीको अवस्था यस्तै रहेको बताउनुभयो । उहाँले दुई वर्ष अघि बालबिकासमा आफैँले पढाउँदा राम्रोसँग अक्षर लेख्न र पढ्न जान्ने साना नानीहरु अहिले आएर अक्षर चिन्ह र लेख्न सक्ने अवस्थामा नरहेपछि चिन्ता थपिएकोे बताउनुभयो ।
३४ जना विद्यार्थी रहेको कक्षा २ मा प्रायः विद्यार्थीको अवस्था उस्तै छ ।
सिमकोटकै कक्षा ६ सम्म पढाई हुने बाल विकास प्राविकी शिक्षक छिरिङ पुनर लामाले पढाइ लथालिंग भएको सुनाउनुभयो । उहाँले अहिले अक्षर चिन्ह र लेख्न नसक्ने अवस्थामा विद्यार्थी पुगेको देख्दा सपना जस्तो लाग्न थालेको बताउनुभयो ।
सिमकोटका यी दुई विद्यालयका विद्यार्थीमा कोरोना प्रभावका कारण अध्ययनमा परेको नकारात्मक प्रभावको नमूना मात्र हुन् । दुई सय दिन पढाई हुने विद्यालयहरु बढीमा ९३ दिन विद्यालय खुल्ला भएका थिए । ती दिनमा पनि राम्रोसँग पढाई भएको थिएन । जिल्लाको सबै गाउँपालिकाका विद्यालयमा कोरोना कहरपछि पठन पाठन सुरु भइसकेको छ । हुम्लामा १३७ वटा विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।