शिक्षा | प्रदेश |

बाढीले विद्यालय बगाएपछि खुल्ला चौरमा पढाइ


शैलेन्द्र रोकाया
बझाङ, कात्तिक ३० गते । कात्तिक १ गते देखि ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खातीगाउँमा रहेको विद्यालय बगाएपछि अहिले खुल्ला रुपमा पठनपाठन सुरु भएको छ । खतीगाउँमा रहेको जगदम्बा निमाबीको आठ कोठे पक्की भवन जडारीगाडमा आएको बाढीले बगाएपछि विद्यार्थीहरुलाई खुल्ला चौरमा राखेर पठनपाठन सुरु गरिएको हो ।

बाढीपहिरो आएको महिना दिन बितिसक्दा पनि सरोकारबाला निकायले ध्यान दिन नसक्दा विद्यार्थीहरुलाई खुल्ला चौरमा पढाई सुरु गरेको हो । विद्यालय भवन निर्माणका लागी विभिन्न निकायमा पहल गरेको भए पनि कुनै पनि ठाउँबाट सुनुवाई नभएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीले स्कुल बगाएपछि हामीले विभिन्न ठाउँमा निवेदन दियौँ । हालसम्म कुनै पनि निकायबाट न आश्वासन पायौँ, न त सहानुभूति नै पायाैँ ।”

विद्यालय भएको ठाउँबाट झण्डै एक किलो मिटर टाढा रहेको जडारीडाडले यसरी वितण्डा मच्चाए आउँछ भन्ने परिकल्पना नगरेका स्थानीयहरु अहिले सामान्यरुपमा आकाशमा बादल लाग्दा समेत विद्यालय बन्द गरेर घर पठाउनु पर्ने बाध्यता आइलागेको छ । १६० जना विद्यार्थी सख्या रहेको उक्त विद्यालयका शौचालयसहित आठ वटा कोठाहरु बगेर बगर बनाएपछि विद्यार्थीको पठनपाठनमा समेत अवरुद्ध गर्नुपर्ने अवस्था आएको छ । विद्यालयलाई स्थानान्तरण गरेर भौतिक पूर्वाधार सबै निर्माण गर्नु पर्ने अवस्था आएपछि विद्यालयको पढाई भने नियमितरुपमा अवरुद्ध हुँदै आएको छ ।

चिसोयाम सुरु भएसँगै घाम लागेका बेला स्क्ुलमा नियमित पढाई हुने भए पनि धाम अस्ताएपछि भने चिसो हुने भएका कारण विद्यार्थी समेत बाहिर बस्न नमान्ने स्थिति आएको अभिभावकहरुको भनाई छ । स्थानीय अभिभावक हर्क खातीले भन्नुभयो, “अहिले त मौसम सामान्य भएकाले जेनतेन पढाई सुरु भएको भए पनि मौसम प्रतिकुल भएपछि भने समस्या हुने भएको छ ।

बाढी आएको यत्रो समय बितिसक्दा पनि राहत तथा विद्यालय भवन स्थानान्तरणका लागी हाल सम्म पनि कुनै पनि पहल हुन नसक्नु दुःखद हो ।” बाढी गाउँमा पसेर कमाई खाने खेतसहित उठिबास भएका यहाँ स्थानीयहरुले चैनसँग आफ्ना नानी बाबुहरुलाई शिक्षा समेत समय दिन सकेका छैन । एकातिर खान लाउनको जोहो गर्नु पर्ने झंञ्जट छ भने अर्कोतर्फ बालबालिकाको भविष्यसमेत अन्धकार हुने अवस्था आएको छ । बाढीपछि निकै शोकमा डुबेको खातीगाउँ बस्ती आफ्नो लयमा फर्कन अझैँ समय लाग्ने भएको छ । यो समयमा यहाँका किसानहरु गँहुबाली लगाउनमा व्यस्त हुन्थे ।

रोजगारीका लागी विदेश गएकाहरु समेत (मंसिर लगाउन) गहुँ बाली लगाउन घर आउने गदर्थे । यहाँका किसानहरुका लागि (मानु लगाएर मुरी फलाउने ) गँहुबाली लगाउने समयमा खेती योग्य जमिन समेत बगाएर लगेपछि बगर हेरेर टोलाएर बस्नुपर्ने अवस्था आएको छ । घर अगाडिको जिउलो बगर बनाएपछि यहाँका झण्डै एक सय भन्दा बढी परिवारको विचल्ली भएको छ ।