शिक्षा | राष्ट्रिय | प्रदेश |

नेपालमा प्रथमपटक सन्थाली वर्णमाला सार्वजनिक


लीला झापाली
बिर्तामोड, मङ्सिर ५ गते । पूर्वी तराई भागमा बसोवास गर्दै आएका अत्यन्त लोपोन्मुख सन्थाली भाषाको सन्थाली वर्णमालाको लोकापर्ण गरिएको छ । आदर्श बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षका विद्यार्थी शिवु मुर्मुद्वारा लिखित सन्थाली वर्णमाला –ओल चिकी)को पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विशेष कार्यक्रमकाबीच बिर्तामोडमा विमोचन गर्नुभयो ।

पाँच वर्षको खोज अनुसन्धानपछि मुर्मुले प्रकाशनमा ल्याएको वर्णमालाको पुस्तक विमोचन गर्दै पूर्वमन्त्री पोखरेलले राज्यले हरेक लोपोन्मुख भाषा, लिपि र संस्कृतिको संरक्षणमा ध्यान दिनु जरुरी भएको बताउनुभयो । साथै, उहाँले राष्ट्रिय जनगणना चलिरहेको बेला धेरै यस्ता भाषी र जातिहरुको वास्तविक तथ्याङ्क ल्याउनका लागि सबैले चनाखो रहन समेत सुझाव दिनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद धर्मशीला चापागाईं, प्रदेश सांसद झलकसिंह दर्लामीलगायतले सन्थाली जाति र भाषा लोप हुने अवस्थामा पुगिसकेकाले सम्बन्धित जातिका अगुवा र निर्वाचित जनप्रतिनिधिले सबैभन्दा बढी सजग हुन आग्रह गर्नुभयो ।

सन्थाल समुदायका जनप्रतिनिधि संविधानसभा सदस्य मोहन टुडुले सन्थालका १२ जाति मध्ये केही जाति नेपालमा पूर्ण लोप भइसकेको तथा कक्षा १ र २ बाहेक अन्य कक्षाको कक्षागत पाठ्यपुस्तक छपाई नहुँदा झापामा सन्थाली भाषा पठनपाठन हुन नपाएको जानकारी दिनुभयो ।
सन्थाली भाषाको लिपी पढ्न र जान्न चाहनेहरुका लागि सहज होस् भन्ने उद्देश्यले शैक्षिक पुस्तकको रुपमा सन्थाली वर्णमाला लेखिएको लेखक शिवु मुर्मुले बताउनुभयो ।

सन्थाली ओल चिकीको माध्यमबाट लेख्दा सन्थाली भाषाको शुद्ध उच्चारण गर्न सकिने मुर्मुले बताउनुभयो । ओल चिकीमा स्वर वर्ण छ वटा, व्यन्जन वर्ण २४ वटा र विशेषक चिन्ह पाँच वटा गरी ३५ वटा वर्ण हुने लेखक मुर्मुले बताउनुभयो । भारतको उडिसा राज्यको मयुरवनका पण्डित रघुनाथ मुर्मुले ओल चिकी लिपिको शुरु गरेको बताउँदै आफूले अग्रज र अनलाइनको माध्यमबाट यो लिपिसिकेको मुर्मुको भनाइ छ ।

वि.सं.२०६५ सालमा फिनल्यान्डको सहयोगमा हल्दिबारी २ झापामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा सन्थाली भाषाको पढाइ भएको तर पाठ्यपुस्तक अभावमा पछि बन्द भएको तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लखन हेमरमले जानकारी दिनुभयो । सन्थाली भाषा पढ्न ४६ जना विद्यार्थी भएको तर कक्षा ३ को पाठ्यपुस्तक सरकारले प्रकाशन गर्न नसक्दा पढाइ नै बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

पूर्वको झापा, मोरङ र सुनसरीमा सन्थालहरुको बढी बसोबास रहेको र जनगणना २०६८ अनुसार सन्थाल समुदायको सङ्ख्या ५१ हजार ७३५ छ ।