शिक्षा | खुला | प्रदेश |

विद्यार्थी अभाव हुँदा प्राथमिक तहमा ५३ शिक्षक दरबन्दी बढी


अमरराज नहर्की
तनहुँ, पुस १ गते । तनहुँको व्यास नगरपालिकामा प्राथमिक तहमा ५३ जना शिक्षक दरबन्दी बढी छ । शिक्षक दरबन्दी बढी हुँदा नेपाल सरकारलाई आर्थिक नोक्सान परेकोले दरबन्दी मिलान गर्न प्राथमिकता दिइएको व्यास नगरपालिकाले जनाएको छ ।
एक जना शिक्षक बराबर नेपाल सरकारलाई वार्षिक रुपमा चार लाख रुपियाँभन्दा धेरै आर्थिक भार पर्ने भएकाले दरबन्दी मिलान गरी अनावश्यक ठाउँमा हटाई आवश्यक ठाउँमा खटाउने, अवधि पुगेका शिक्षकलाई अवकाश गर्न प्रोत्साहन गर्ने जस्ता कार्यलाई प्राथमिकता दिइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । विद्यार्थीका अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा उनीहरुको व्यवस्थापन गर्न ‘‘सम्मानजनक शिक्षक बिदाइ’’ कार्यक्रम छनोट गरी बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा बसाइँ सरेर सहरमा आउने र विद्यार्थीलाई अङ्ग्रेजी शिक्षाप्रति मोह बढेर निजी विद्यालयमा भर्ना हुने जस्ता कारणले विद्यार्थी सङ्ख्या घट्दा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी बढी भएको नगरपालिकाले जनाएको छ ।
सम्मानजनक बिदाइ कार्यक्रम अन्तर्गत ऐच्छिक अवकाश लिनेलाई नगरपालिकाको आन्तरिक स्रोतबाट दुई महिनाको तलब बराबरको नगद प्रोत्साहन रकम १९ जना शिक्षकलाई ११ लाख ८४ हजार रुपियाँ प्रदान गरिएको नगरपालिकाका अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो । शिक्षक सेवा पास गरी आएका नयाँ शिक्षक तथा पुराना शिक्षकले विद्यार्थी आकर्षणका लागि शैक्षिक गतिविधि सञ्चालन नगर्दा प्राथमिक तहमा विद्यार्थी सङ्ख्या पातलो हुँदै गएकाले छ । स्थानीय सरकारले शिक्षाको अनुगमनको जिम्मा पाए पनि कर्मचारीको अभावमा अनुगमनलगायतका काम प्रभावित हुँदै आएको छ । १४ वटा वडा रहेको व्यास नगरपालिकामा ७५ वटा सामुदायिक विद्यायमा प्राथमिकत तह पढाई हुने र त्यहाँ तीन हजार ५३५ विद्यार्थी अध्ययन गर्ने गरेको कम्युप्टर अपरेटर अर्जुन सुनारले जानकारी दिनुभयो । निमावि र माध्यामिक तहमा शिक्षकको अभाव भएकाले तह अनुसारको शैक्षिक योग्यता पुगेका शिक्षकलाई भने अवकाश नरोजी माथिल्लो कक्षामा अध्यापन गराउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिका अतिरिक्त भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, ऋषिङ् गाउँपालिका, घिरिङ् गाउँपालिका र भिमाद नगरपालिका गरी सात वटा स्थानीय तहका कार्यपालिकाले शिक्षक विद्यार्थीको अनुपातको आधारमा दरवन्दी मिलान गर्ने निर्णय गरी कार्यान्वयनको चरणमा गएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले जानकारी दिनुभयो ।
शिक्षा नियमावली अनुसार पहाडी जिल्लामा एक शिक्षक बराबर ४५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ । त्यस्तै, हिमाली जिल्लामा एक शिक्षक बराबर ३० विद्यार्थी र काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा एक शिक्षक बराबर ५५ विद्यार्थी अनुपात हुनुपर्ने प्रावधान छ । जिल्लाका समुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्यामा कमी आएको छ । सामुदायिक विद्यालयमा मावि, निमाविभन्दा प्रावि तहका कक्षामा विद्यार्थीको आकर्षण हुनसकेको छैन । प्राथमिक तहमा निजी विद्यालयमा भर्ना हुने माध्यामिक तहमा भने सामुदायिक विद्यालयमा भर्ना गर्ने धेरै रहेको पाइएको छ । ‘‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले उच्चशिक्षा अध्ययनको लागि छात्रवृत्तिमा अवसर पाउने भएकोले माध्यामिक तहमा भने निजीमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण बढेको पाएका छौं’’ व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख रेग्मीले भन्नुभयो ।
व्यास नगरपालिका भित्रका विद्यालयहरुमा दरबन्दी कटौति गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने र विद्यार्थी कम भएका विद्यालय मर्ज गर्नुपर्ने देखिँदा आवश्यक निर्णय लिनका लागि नगरप्रमुख, उप–प्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार बाल विकासमा न्यूनतम ५ जना र अन्य तहगत आधारमा न्यूनतम १० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयहरुलाई बालबालिकाको शिक्षा आर्जन गर्ने प्रत्याभूति गरी विद्यालय मर्ज गर्ने निर्णय गरियो ।