शिक्षा | राष्ट्रिय |

शिक्षकको विज्ञापन तत्काल खोल्न निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “देशभरिका विद्यालयमा शिक्षक अभाव छ । यसै साता निमावि र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।”

शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली केही दिनअघि मन्त्रिपरिषद्बाट पारित भएको थियो । नियमावलीबारे जानकारी गराउँदै पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई निर्देशन दिनुभयो ।नियमावली संशोधन भइसकेकाले अब तीन हजार ३९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ ।

छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिनुभयो । रेग्मीले भन्नुभयो, “माविको एक हजार ५६५ पदका लागि विज्ञापन गरिसकेका छौँ । यसै साता निम्नमाध्यमिक विद्यालयमा रिक्त दुई हजार ५९८ पदका लागि विज्ञापन गर्छौं ।”