शिक्षा | मुख्य समाचार |

मुलुक रूपान्तरणमा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक रूपान्तरणमा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको ३३औँ सभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्य मान्यता र संस्कारका साथै लोककल्याणकारी राज्यको भावनाअनुसार मुलुक रूपान्तरणका लागि सहयोग पु-याउने जनशक्ति उत्पादनमा विश्वविद्यालयले ध्यान दिनेछ भन्ने विश्वास लिएको छु । ”

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले समयको आवश्यकताअनुसार विश्वविद्यालय शिक्षालाई अध्ययन अनुसन्धान र नवप्रवर्तनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रलाई समुन्नति, समृद्धि तथा विकासमा अघि बढाउन अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ तथा सूचना प्रविधिसँग सम्बन्धित विषयको पढाइमा जोड दिन निर्देशन दिँदै भन्नुभयो, “राष्ट्रिय आवश्यकता सम्बोधन हुनुका साथै अन्तर्राष्ट्रिय मागसमेत सम्बोधन हुने गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्न म विश्वविद्यालयको ध्यानाकर्षण गराउन चाहन्छु । ”

उहाँले विश्वविद्यालयले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिने मात्र नभई जीवनोपयोगी शिक्षा, प्रविधि र सीप सिकाइमा आत्मनिर्भर बनाउनेतर्फ पनि सोच्नुपर्ने बताउँदै नागरिकलाई व्यावसायिक र उद्यमशील बनाउने तथा नेपाल जस्तो विकासशील मुलुकमा समाज सुधार एवं परिवर्तनका लागि नेतृत्व लिनसक्ने जनशक्ति उत्पादन गर्नसक्ने शैक्षिक केन्द्रका रूपमा विश्वविद्यालयलाई विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रधानमन्त्री देउवाले प्रदेश १ मा स्थापना भएको हुनाले पूर्वाञ्चल विश्वविद्यालयले अलैँची, चिया, रुद्राक्ष, जैविक औषधि, जुट, फलफूललगायत नेपालको मौलिक उत्पादनको क्षेत्रमा उच्चस्तरीय शोध अनुसन्धान गर्नुपर्ने देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सामग्रीको उत्पादन, प्रशोधन र मूल्य अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने विषयमा समेत विश्वविद्यालयले सहयोगी भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । ”

सभामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाले प्रशस्त समस्या र चुनौतीका बीच पनि विश्वविद्यालयले काम गरिरहेको बताउँदै विश्वविद्यालय स्थापनाकालदेखि अहिलेको अवधिमा हासिल गरेका उपलब्धि सन्तोषजनक नरहेको स्वीकार गर्नुभयो ।‘पूर्वाञ्चल विश्वविद्यालय समुदायमा’ भन्ने नारा लिएर शैक्षिक कार्यक्रमलाई समुदाय केन्द्रित बनाउन लागिएको उपकुलपति कोइरालाले बताउनुभयो । सभाले आर्थिक वर्ष ०७८/७९ का लागि एक अर्ब २० करोड २५ लाख २० हजार रुपियाँ बजेट पारित गरेको छ ।