शिक्षा |

नेपाली सेना कृषि विज्ञान संस्थानद्वारा प्रि डिप्लोमा कोर्सका विद्यार्थीलाई बिदाइ

बेलिना थापा
लमजुङ, पुस २१ गते । लमजुङको बेंसीसहर नगरपालिका वडा नं. २ बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई अन्तिम प्रवचन तथा बिदाइ गरेको छ ।

नेपाली सेनाको कल्याणकारी योजना अन्तर्गत सैनिक कल्याणकारी कोषद्धारा स्थापित नेपाली सेना कृषि विज्ञान संस्थानमा एक वर्ष ८ महिना अध्ययन गरेका विद्यार्थी ४० जनालाई बिदाइ गरेको हो । विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी बिजय थापाले प्रमाणपत्र र सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले मार्कसिट हस्तान्तरण गर्नुभएको थियो । तालिम अवधीभर नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङको प्रथम ब्याचले शत प्रतिशत विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको भन्दै सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले केन्द्रका प्राचार्य श्यामकृष्ण घिमिरेलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

एक वर्ष आठ महिना अध्ययन गरेका विद्यार्थीमध्ये कृषितर्फ ९६.३९ प्रतिशत अंक ल्याएर दिनेशकुमार दाहाल (काभ्रे बनेपा) प्रथम भएका छन् । पशुपालनमा ९३.४ प्रतिशत अङ्क ल्याएर काभ्रेका मने तामाङ प्रथम भएका छन् । तालिममा कृषितर्फका २४ जना र पशुपालनमा १६ जना सहभागी भएको केन्द्रका सहायक प्राचार्य विनोद घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार तालिममा विद्यार्थीले धेरैमा ९६.३९ प्रतिशत र कममा ८९.२८ प्रतिशत अङ्क ल्याएका छन् । विद्यार्थीलाई एक वर्ष सैद्धान्तिक अध्ययन गराइएको थियो । यसमा केन्द्रभित्रै २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक थियो । तालिमको अन्य समय जिल्ला बाहिर लगेर प्रयोगात्मक अभ्यास गराइएको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी बिजय थापाले प्रमाणपत्र प्रदान गर्नुहुँदै तालिममा सिकेका सीप र ज्ञान आफ्नो व्यवसायमा लागु गर्न अनुरोध गर्नुभयो । आगामी दिनमा आत्मनिर्भर हुँदै राज्यस्तरमा कृषि उपजबाट खाद्य सुरक्षामा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको कल्याणकारी योजना अनुसार सैनिक र गैर सैनिकका सन्तानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले सीप प्रदान गर्दै आएको छ । सहुलियतमा व्यावसायिक कृषि र पशुपालन तालिम दिएर क्षमता विकासको काम गर्दै आएको बताउनुभयो ।

लमजुङमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले सीटीईभीटीको समन्वयमा प्रि डिप्लोमा बाली विज्ञान तथा पशुपालन संकायका तालिम गर्दै आएको छ । दक्ष जनशक्ति उत्पादन गरी कृषि उपजमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई कार्यन्वयन गराउन योगदान गर्दै आएको बताउनुभयो । केन्द्रबाट सैनिक र गैर सैनिक परिवारका सन्तानलाई स्नातक तहको बीएससी एजी कार्यक्रम सञ्चालन यसैबर्षबाट हुनेछ । त्रिवुभवन युनिभर्सिटी र डिनमा समन्वयको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सीप सिकाएर आत्मनिर्भर बनाउने उद्धेश्यले देशका ६४५ स्थानीय तहका कार्यक्रम गर्दै आएको बताउनुभयो । सीटीईभीटीले एक हजार १०० संस्थालाई सीपमूलक शिक्षाका लागि स्वीकृति दिइसकेको बताउनुभयो ।

उक्त केन्द्र २०७६ असार १८ गते सीटीईभीटीबाट सम्बन्धनप्राप्त गरी २०७६ साल भदौ २ गतेबाट सञ्चालनमा आएको हो । यसबर्षबाट बीएससी एजी सुरु गर्ने योजना बनाएको छ । केन्द्रले समयसमयमा छोटो अवधीका तीन महिने, १८ महिने पशुपालन तथा कृषि तालिम सञ्चालन गर्दै आएको छ । उक्त केन्द्र ३८६ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रशासन तथा शैक्षिक क्षेत्रमा भवनलगायतको पूर्वाधार, छात्रावास, प्रयोगशाला निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको छ । कृषि क्षेत्रमा फार्म स्थापना, फलफूल, तरकारी, मसला, नगदे बाली, अन्नबाली, फलफूलको बगैंचा, चिया बगान स्थापना गरिएको गरिएको छ । पशुपालन क्षेत्रमा कुखुराफार्म, गाईफार्म, बाख्राको फार्म, बङ्गुर फार्म, माछापोखरी स्थापना गरिएको छ ।