शिक्षा |

त्रिवि एलुम्नाइको तेस्रो साधारणसभा सम्पन्न

काठमाडौँ, पुस २१ गते । त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसनको तेस्रो वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।  कार्यक्रममा सहभागी विज्ञहरुले विश्वविद्यालयको शैक्षिक, आर्थिक तथा अन्य पक्षमा सुधारका लागि पूर्व बिद्यार्थीहरुको समूह (एलुम्नाइ) को भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । कार्यक्रममा विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक महेश उपाध्यायले भन्नुभयो, “एलुम्नाइले विश्वविद्यालयको हितमा प्रशस्तै काम गर्न सक्छ । एलुम्नाइको लागि आवश्यक सहयोग गर्न हामी पनि तयार छौं ।”
त्रिविकै पूर्व उपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालयको लागि एलुम्नाइ भन्दा ठूलो संस्था अरु नहुने बताउनुभयो । एलुम्नाइ र विश्वविद्यालयले सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । विश्वविद्यालयकै पूर्व उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाले पनि विश्वविद्यालयका अप्ठ्यारालाई समाधान गर्न एलुम्नाइको सहयोगी भूमिका रहने बताउनुभयो । एलुम्नाइको प्रतिनिधीलाई विश्वविद्यालयको सभासष बनाउनुपर्ने उहाँको भनाइ छ ।
एलुम्नाइका अध्यक्ष सुनिति श्रेष्ठ हाडाले आफूहरु विश्वविद्यालयको गुणात्मक विकासका लागि सहयोगी संस्था बन्ने बताउनुभयो ।