चार दिनमै ३९ जनामा सङ्क्रमण एक विद्यालय बन्द
गोकर्ण पौडेल
तुल्सीपुर, पुस २२ गते । तुल्सीपुर उपमहानगपालिकामा चार दिनको अवधिमा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पालिका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार एक विद्यालयका पाँच जना शिक्षक र छ जना विद्यार्थीमा सङ्क्रमण देखिएपछि पाँच दिनका लागि उक्त विद्यालय बन्द गरिएको छ । कुनै समय कोरोना सङ्क्रमण शून्यमा झरेको पालिकामा चार दिनकै अवधिमा ३९ जनामा सङ्क्रमण देखिएको हो । पालिकाका जन स्वास्थ्य प्रवर्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार अहिले पालिकामा सङ्क्रमितको सङ्ख्या ३९ पुगेको छ ।
केसीका अनुसार सङ्क्रमित ३९ जनामध्ये ११ जना खोप नलगाएका बालबालिकाहरु रहेका छन् । राप्ती प्रादेशिक अस्पतालको कोरोना एकाइमा उपचाररत रहेको र ३७ जना होमआइसोलोसनमा रहेको बताउनुभयो । सङ्क्रमित सबैको अवस्था सामान्य छ ।
तुल्सीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालमा बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म निःशुल्करुपमा कोरोना परीक्षण हुँदै आएको छ । हालसम्म तुल्सीपुर उपमहानगरपालिमा ९५ हजार पाँच सय बिस जनालाई पहिलो खोप र ६९ हजार सात सय ७० जनालाई दोस्रो खोप दिइएको छ ।