शिक्षा | प्रदेश |

भूकम्पले भत्किएका विद्यालय अझै बनेनन् चिसोमा पनि टहरोमै पढ्न बाध्य


चित्र मिजार

सिन्धुपाल्चोक, पुस २७ गते । भूकम्पले ध्वस्त बनाएको हिमाली क्षेत्रका विद्यालय पुनर्निर्माण नहुँदा साढे छ वर्षदेखि विद्यार्थीले टहरामा चिसोले कठ्याङ्ग्रिएरै पढ्न बाध्य छन् । तीन नगरपालिका र नौ गाउँपालिकाका हिमाली भेगका क्षतिग्रस्त विद्यालय सरकार र दाताले पुनर्निर्माण नगर्दा विद्यार्थीले टहरामा पढ्नुपरेको हो । भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकाका लेकाली भेगका विद्यालयका विद्यार्थीले जाडोमा टहरामा पढ्नुपरेको छ ।

भूकम्पले क्षतिग्रस्त बनाएको भोटेकोसी गाउँपालिका–१, लिस्तीकोटको उग्रचण्डी माध्यमिक विद्यालयको भवन साँढे छ वर्षसम्म पुनर्निर्माण भएको छैन । उक्त विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद तिमल्सिनाले भूकम्पपछि विद्यार्थी जाडो, वर्षा, हुरी बतासमा टहरामा पढ्नु परेको गुनासो गर्नुभयो ।
उग्रचण्डी मावि र झिर्पु मावि पुनर्निर्माणका लागि २०७२ चैत २९ गते चिनियाँ राजदूतवाससँग सम्झौता भएको थियो । अहिलेसम्म दूतावासले पुनर्निर्माण गरिदिने बारे चासोसमेत देखाएको छैन । नयाँ भवनको आशामा रहेको झिर्पु माविका विद्यार्थी भूकम्पले जीर्ण बनाएको भवनमा नै बसेर अध्ययन गरिरहेका छन् ।

सुनकोसी गाउँपालिका–७ को कापिङ आधारभूत विद्यालयका विद्यार्थीहरू पनि भूकम्पपछि टहरामै पढ्न बाध्य छन् । उक्त विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद तिमल्सिनाले विद्यालय भवनका लागि तीनै तहका सरकार र दातालाई कयौँ पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको पीडा पोख्नुभयो । भूकम्पले ढलेका पाँच दर्जन विद्यालय अझै पुनर्निर्माण भएका छैनन् ।

भूकम्पले सिन्धुपाल्चोकमा ४४५ विद्यालयका तीन हजार ६२० कक्षाकोठा ध्वस्त बनाएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । सुगम र पहुँचवाला विद्यालयका भवन बनेका छन् तर दुर्गम र पिछडिएका समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयका भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेका छैनन् । भूकम्पले ढालेका २१२ वटा विद्यालय गैरसरकारी सङ्घसंस्था र बाँकी सरकारी बजेटमा पुनर्निर्माण गरिएको एकाइ प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभएको छ । उहाँले पहिलो र दोस्रो चरणको कोरोना महामारीका कारण लकडाउन भएकाले अझै ५५ वटा विद्यालयमा खानेपानी, शौचालय, तारबार व्यवस्थापनका काम धमाधम भइरहेको बताउनुभयो ।